९ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

गृहले भन्यो: प्रदर्शनमा घुसपैठ हुनसक्छ, आन्दोलनका कार्यक्रम नगर्नू

फाइल तस्बिर।

गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत विभिन्न समूहले आह्वान गरेका धर्ना, जुलुस तथा विरोध प्रदर्शनका कार्यक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै यस्ता कार्यक्रममा देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहले घुसपैठ गरी अशान्ति र अराजकता फैलाउन सक्ने भन्दै आयोजकहरूलाई सचेत गराएको छ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘जेन-जी’ पुस्ताको अगुवाइमा भएको प्रदर्शनपछि गठन भएको वर्तमान सरकार आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको वातावरण बनाउन केन्द्रित रहेको उल्लेख छ।

सरकारले निर्वाचनसम्बन्धी कानुनमा संशोधन, स्रोत र साधनको व्यवस्थापन तथा राजनीतिक दलहरूसँग संवाद गरिरहेको अवस्थामा शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न अनुरोध गरिएको छ।

मन्त्रालयले आफ्ना माग राख्दा आम जनताको शान्तिपूर्वक बाँच्न पाउने, निर्वाध सार्वजनिक सेवा प्राप्त गर्ने र निर्वाचनमा भाग लिन पाउने अधिकार कुण्ठित हुन नदिन सबैलाई आग्रह गरेको छ। साथै, मुलुकमा साम्प्रदायिक सद्भाव कायम राख्दै राष्ट्रिय हितको प्रवर्द्धनमा योगदान गर्न पनि अपिल गरिएको छ।

‘सबैको जायज माग, चासो एवम् सरोकारलाई सम्बोधन गर्न सरकार सदा तत्पर र गम्भीर रहेको हुँदा यस्ता धर्ना, जुलुस, प्रदर्शन, आन्दोलन लगायतका कार्यक्रमहरू नगरी वार्ता र संवादका माध्यमबाट कुनैपनि मागको विधिसम्मत समाधान खोज्न सबैमा हार्दिक अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ८ कार्तिक २०८२ १७:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App