नेकपा (एमाले)ले भदौ २३ र २४ मा भएका विध्वंसकारी घटनामा संलग्न दोषीहरूमाथि कारबाही अघि नबढाउन गृह मन्त्रालयले दिएको निर्देशनप्रति असन्तुष्टि जनाएको छ।
आज भक्तपुरस्थित गुण्डुमा बसेको सचिवालय बैठकले यस्तो असन्तुष्टि जनाएको हो। यसबाट प्रहरीको कानुनसम्मत क्षेत्राधिकारमा हस्तक्षेप भएको र प्रहरीले निर्बाध काम गर्ने वातावरण बिग्रिएको एमालेको ठहर छ। साथै यस निर्देशनले अपराधीहरूको मनोबल बढाउने र उन्मुक्ति दिने आपत्तिजनक मनशाय समेत बोकेको बताएको छ।
यस्तै एमालेले यसप्रति गम्भीर आपत्ति प्रकट गर्दै नेपाल प्रहरीलाई निर्बाध काम गर्ने वातावरण सुनिश्चित गर्न गम्भीर ध्यानाकर्षण गरेको छ।
प्रकाशित: १२ आश्विन २०८२ २१:०९ आइतबार





