२० वैशाख २०८३ आइतबार
image/svg+xml
राजनीति

दवावमा गृहमन्त्री सुधन

नयाँ सरकार गठनसँगै तीव्र गतिमा देखिएका गृहमन्त्री सुधन गुरुङ यतिबेला चौतर्फी दवावमा परेका छन् । गृहमन्त्रीको नियुक्ति लिए लगत्तै प्रहरीलाई हाइअलट गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि चर्चामा आएका गुरुङले आफ्नो रफ्तारलाई बढाइ नै रहे ।  

उनको रफ्तार बढ्‍दा नयाँ सरकारले चाँडै नतिजामूलक काम गर्न थाल्यो भन्ने चर्चा पनि उत्तिकै भए । सरकारमा सहभागी मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गर्नुअघि सरकारका सबै मन्त्रीको कामकारबाहीको सकारात्मक चर्चा नै भयो । तर सम्पत्ति विवरण सार्वजनिक भएपछि सुरु भएको आलोचना अहिले पद जोगाउन गाह्रो हुने देखिएको छ ।  

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीबाट दीपक साह पदमुक्त भए । उनले पदीय दुरुपयोग गरी श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डको सदस्यमा सक्रिय बनाएको आरोपमा अनुशासन समितिले कारबाही सिफारिस गरेपछि प्रधानमन्त्री बालेन शाहले साहलाई पदमुक्त गरे ।  

अहिले गृहमन्त्री सुधनको त्यत्तिकै चर्चा छ । उनलाई नैतिकता र आर्थिक आचरणको प्रश्न उठाउँदै राजीनामा माग हुन थालेको छ ।  

नेपाली कांग्रेसले पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुने भएकाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएकको छ । कांग्रेसका प्रवक्ता देवराज चालिसेले एक विज्ञप्ति जारी गर्दै राजीनामा भन्ने शब्दावली प्रयोग नगरे पनि अनुसन्धानलाई निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गर्नुपर्ने माग गरेका छन् । उनले गृहमन्त्रीसहित मन्त्रीहरूमाथि उठेका प्रश्न बारे छानविन गर्न उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग गरेका छन् ।  

गृहमन्त्रीकै विषयमा पार्टी सभापति रवि लामिछानेले पनि प्रष्टीकरण दिनुपरेको छ । उनले अहिले नै गृहमन्त्रीको कामको मूल्यांकन गर्ने अवस्था नरहेको उल्लेख गरेका छन् ।  

किन विवादमा तानिए गृहमन्त्री

अहिले सरकारले सम्पत्ति शुद्धीकरणको अनुसन्धानलाई तीव्र पारेको छ । यही आरोपमा व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् । उनी प्रहरी हिरासतमा छन् । उनै व्यवसायी भट्टसँग गृहमन्त्री गुरुङ व्यवसायिक साझेदारका रुपमा जोडिएको पाइएपछि नैतिकता र आर्थिक आचरणको प्रश्न उनीमाथि तेर्सिएको छ ।  

उनले सार्वजनिक गरेको सम्पत्ति विवरण पनि प्रश्न सोध्नुपर्ने खालको भएको आरोप सामाजिक सञ्जालमा छ । सुशासनको चर्को नारा दिने गुरुङ आफ्ना कमजोरीमाथि कसरी सार्वजनिक हुन्छन् भन्ने प्रश्न पनि उठेको छ । सामाजिक सञ्जालमा आएका टिप्पणी र उनलाई सोधिएका प्रश्नको उचित जवाफ नदिँदा अहिले चौतर्फी प्रश्नको सामना गरिरहेका छन् ।  

सम्पत्तिको विषय र उनको आर्जनको विषयमा उनी नबोली टाढिए पनि व्यवसायी भट्टसँगको कनेक्सन उनका लागि भारी परेको छ ।  

सार्वजनिक तथ्यमा ‘स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड’ मा भट्ट र सुलभ अग्रवालसँगै गृहमन्त्री गुरुङको पनि साझेदारी देखिन्छ ।

इन्योरेन्सको प्रारम्भिक सेयर लगत सूचीको ४९औँ नम्बरमा गुरुङको नाम देखिन्छ  । उक्त कम्पनीमा उनले २५ लाख रुपैयाँ सेयर लिएको लगानी भएको देखिएको छ । उक्त कम्पनी २०७९ सालमा लाइसेन्स पाएको बिमा कम्पनी हो ।

त्यहाँ देखिएको से‍यरलाई उनले सम्पत्ति विवरणमा देखाएका छैनन् । सुधनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्लाई  कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा होप होल्डिङ्स र अनुज प्रिमियम अपार्टमेन्टस् नामक कम्पनीमा मात्रै संस्थापक शेयर लगानी भएको उल्लेख गरेका थिए ।

पार्टी नेतृत्वसँग भेट

आफ्नै विषयमा प्रश्न उठेपछि गुरुङ आन्तरिक दौडधुपमा लागेका छन् । उनले पार्टी सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । पार्टी भित्रै पनि गुरुङलाई कारबाही गर्नुपर्छ भन्ने आवाज उठ्न थालेपछि उनले सभापतिलाई भेटेका हुन् । दुईको भेटका कुराकानी भने सार्वजनिक भएको छैन ।  

रास्वपाले आजै सोमबारलाई केन्द्रीय समिति बैठक पनि डाकेको छ । सोही बैठकमा गुरुङमाथि कारबाही गर्ने नगर्ने भन्ने विषय निर्णय हुने भएकाले पनि बैठकअघि सभापतिसँग भएको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । 

यो पनि पढ्नुहोस्

सेयर विवादबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण: मैले केही लुकाएको छैन

 

प्रकाशित: ७ वैशाख २०८३ १४:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App