गृहमन्त्री सुधन गुरुङले आफ्ना मतदातालाई ‘भोट फिर्ता लैजान’ भन्दै दिएको अभिव्यक्ति केवल ठट्टा मात्र भएको दाबी गरेका छन्।
गृहजिल्ला गोरखामा मतदातासँगको अन्तरक्रियाका क्रममा दिएको उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन्।
सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गुरुङले आफ्ना मतदाता र पार्टीका कार्यकर्तासँग जोक गरेको जिकिर गरे।
‘भोट कसरी फिर्ता गर्न मिल्छ ?’ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘हामी त्यहाँ भित्र पार्टीका साथीहरूबीच बसेर गरेको कुरा जोक होइन त ? आफ्ना मतदातासँग जोक गर्न पनि नहुने ?’
निर्वाचित भएको पाँच महिनापछि मतदाता भेटघाटका क्रममा मन्त्री गुरुङ शनिबार र आइतबार गोरखा क्षेत्र नम्बर-१ पुगेका थिए। आइतबार साँझ शहीद लखन गाउँपालिका वडा नम्बर-९ मा स्थानीय बासिन्दा, वडाध्यक्ष रामकुमार श्रेष्ठ र रास्वपाका वडा सचिव खोपेन्द्र लामिछानेलगायतसँग अन्तरक्रिया कार्यक्रम राखिएको थियो।
उक्त छलफलमा वडा सचिव लामिछानेले स्थानीय स्वास्थ्य चौकीमा ल्याब स्थापनाका लागि चुनावअघि गरेको वाचा सम्झाउँदै बजेट नपरेको विषयमा मन्त्रीसमक्ष प्रश्न उठाएका थिए। गाउँलेले सोधेर हैरान पारेको भन्दै लामिछानेले जवाफ मागेपछि मन्त्री गुरुङ केही आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए।
साना योजनाहरू स्थानीय र प्रदेश सरकारले नै सम्बोधन गर्नुपर्ने तर्क गर्दै मन्त्री गुरुङले केन्द्र सरकारले यस्ता आयोजना राख्दा बजेटको किताब पहाड बन्ने बताएका थिए।
‘यति साना-साना बजेट किताबमा राख्ने हो भने त महाभारत र रामायण मिक्स गरेर पनि बन्दैन,’ उनले भनेका थिए, ‘चार महिनामा बल्ल पहिलो बजेट आएको छ। म चार महिनामै कायापलट गर्न सक्दिनँ, भोट लिएर जानुस्।’
सोही संवादको भिडियो सार्वजनिक भएपछि सामाजिक संजाला गृहमन्त्रीको आलोचना भएको थियो। यद्यपि, मन्त्री गुरुङले सरकार बनेको चार महिना मात्रै पुगेको र बजेट भर्खरै कार्यान्वयनमा आएकाले जनतालाई धैर्य गर्न आग्रह गरेका छन्।
उनले चुनावमा गरिएका वाचाहरू विस्तारै पूरा गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
प्रकाशित: ३ भाद्र २०८३ १४:५७ बुधबार





