२९ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

गृहमन्त्री गुरुङ भन्छन् : आईजीपीलाई आरोपकै भरमा दोषी करार गर्न मिल्दैन

गृहमन्त्री सुदन गुरुङले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि समितिमा भएको व्यवहार ठिक नभएको बताएका छन्। 

शुक्रबार गृहमन्त्री गुरुङले सार्वजनिक लेखा समितिको अघिल्लो बैठकमा गृह सचिव र प्रहरी प्रमुखमाथि गरिएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै आफू समितिमा उपस्थित नभएका बेला भएको उक्त घटनाप्रति गृह मन्त्रालयको ध्यानाकर्षण भएको बताएका छन्।  

‘उजुरीको भरमा हामी न्यायाधीश बन्न मिल्दैन। आरोप आरोप हो, जो कोहीले लगाउन सक्छ भन्दैमा कसैको चरित्र हत्या गर्न पाइँदैन,’ उनले भने, ‘आरोप पुष्टि नभएसम्म कसैलाई दोषी करार गरेर समितिमार्फत त्यस्तो व्यवहार गर्नु राम्रो होइन।’  

गुरुङले आईजीपी कार्की र गृह मन्त्रालयका कर्मचारीहरूले सरकारको भावनाअनुसार काम गरिरहेको दाबी गर्दै उनीहरूको कामप्रति आफू प्रत्यक्ष जानकार रहेको बताएका छन्। 

‘जसरी आईजी साबहरूले काम गर्नुभएको छ, म प्रत्यक्षदर्शी छु। उहाँहरू हाम्रो स्पिरिटमा, विशेषगरी यो सरकारको स्पिरिटमा काम गर्न दिनरात खटिनुभएको छ,’ उनले भने। 

उनले समितिको बैठकमा भएको व्यवहारप्रति आफू ‘खुसी नभएको’ बताउँदै भने ‘दिस इज नट राइट, दिस इज नट गुड’ ।  

बुधबार सार्वजनिक लेखा समितिको बैठकमा सांसद खगेन्द्र सुनारले आईजीपी कार्कीमाथि भ्रष्टाचारको गम्भीर आरोप लगाउँदै तत्काल निलम्बन गरी छानबिन गर्नुपर्ने माग गरेका थिए। त्यसको जवाफमा आईजीपी कार्कीले सुनारलाई ‘पाषाणयुगीन सोच भएका शासक’ बताएका थिए।   

प्रकाशित: २९ श्रावण २०८३ १५:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App