राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले रसुवाको हाकु–२१६ सुरुङमा उद्धारका लागि आफूलाई हेलिकप्टरमार्फत जान आग्रह गरिए पनि फोटो खिचाउन मात्र घटनास्थल पुग्नुको अर्थ नभएको बताएका छन्।
शाहीका अनुसार गृहमन्त्रीले उनलाई हेलिकप्टर चढेर काठमाडौंबाट रसुवा जान आग्रह गरेका थिए। तर आफू सुरुङ उद्धारको विज्ञ नभएको भन्दै उनले दक्ष प्राविधिक र विशेष उद्धार टोली पठाउन आग्रह गरेको बताएका छन्।
शाहीले सुरुङभित्र गएर उद्धार गर्ने प्राविधिक क्षमता र विशेषज्ञता आफूसँग नभएको स्पष्ट पार्दै आफ्नो सट्टामा सुरुङको प्राविधिक अनुगमन तथा उद्धार गर्न सक्ने अनुभवी विज्ञ र विशेष उद्धार टोली तत्काल पठाउन आग्रह गरेका हुन्।
उनले भनेका छन्, ‘अहिले हामीलाई फोटो खिचाउने मान्छे होइन, नागरिकको जीवन बचाउन सक्ने विज्ञ र उद्धारकर्ता चाहिएको छ।’
शाहीले आफू प्रचारका लागि हेलिकप्टर चढेर रसुवा जान नचाहेको भन्दै ज्ञान, प्रविधि, अनुभव र जोखिम व्यवस्थापनको क्षमता भएका दक्ष टोलीलाई तत्काल सुरुङभित्र पठाउनुपर्नेमा जोड दिएका छन्।
उनले हाकु–२१६ सुरुङभित्र अझै जमेको हिलो नहटाइएको भन्दै उद्धारका लागि आवश्यक हिलो हटाउने मेसिन तथा अन्य उपकरण तत्काल उपलब्ध गराउन गृहमन्त्रीसँग आग्रह गरेका छन्।
‘कृपया मलाई बोलाउनु वा उडाउनुभन्दा त्यहाँ जमेको हिलो हटाउन आवश्यक हिलो फाल्ने मेसिन र उपकरण तत्काल उपलब्ध गराइदिनुहोस्,’ शाहीले भनेका छन्।
यस्तो छ उनको स्टाटस:
गृहमन्त्रीज्यूले मलाई भन्नुभयो—“तपाईं हेलिकप्टर चढेर काठमाडौँबाट रसुवा जानुहोस्।”
मैले गृहमन्त्रीज्यूलाई स्पष्ट जवाफ दिएँ—“म हेलिकप्टर चढेर रसुवा पुगेर सुरुङमार्गको बाहिर उभिन र फोटो खिचाउन जाने होइन। म सुरुङ उद्धारको विज्ञ होइन। सुरुङभित्र गएर उद्धार गर्ने प्राविधिक क्षमता र विशेषज्ञता मसँग छैन।”
त्यसैले मेरो सट्टामा सुरुङमार्गको प्राविधिक रूपमा अनुगमन गर्न र उद्धार गर्न योग्य, दक्ष तथा अनुभवी विज्ञ र विशेष उद्धार टोली पठाउनुहोस्।”
अहिले हामीलाई फोटो खिचाउने मान्छे होइन, नागरिकको जीवन बचाउन सक्ने विज्ञ र उद्धारकर्ता चाहिएको छ।
म आफ्नो प्रचारका लागि हेलिकप्टर चढेर जाने होइन। जससँग ज्ञान, प्रविधि, अनुभव र जोखिम व्यवस्थापन गर्ने क्षमता छ, त्यस्ता दक्ष टोलीलाई तत्काल सुरुङभित्र पठाउनुहोस्।
माननीय गृहमन्त्रीज्यू,
हाकु–२१६ सुरुङ।
सुरुङभित्र अहिलेसम्म जमेको हिलो हटाइएको छैन। कृपया मलाई बोलाउनु वा उडाउनुभन्दा त्यहाँ जमेको हिलो हटाउन आवश्यक हिलो फाल्ने मेसिन र उपकरण तत्काल उपलब्ध गराइदिनुहोस्।
प्रकाशित: १८ भाद्र २०८३ ०९:३३ बिहीबार





