गृहमन्त्री ओम प्रकाश अर्यालले मुलुकमा सुशासन र परिवर्तनका लागि भएको जेन-जी आन्दोलनका क्रममा भएका दमन र अपराधमा संलग्न दोषीहरूलाई कुनै हालतमा नछाड्ने बताएका छन्।
मंगलबार साँझ काठमाडौंमा आयोजित ‘जेन-जी आन्दोलनका शहीदहरूप्रति दीप प्रज्वलन’ कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले राज्य संयन्त्रभित्र लुकेर बसेका र पर्दा पछाडिबाट नेताहरूलाई समेत नचाउने ‘तत्व’ हरूको पहिचान भइसकेको खुलासा गरे।
सम्बोधनका क्रममा मन्त्री अर्यालले भने, ‘राज्य प्रणालीभित्रबाट कारबाही त गर्छौं नै, त्यस्ता तत्वहरूलाई हामीले अन्तर्राष्ट्रिय रूपमा पनि घेराबन्दी गर्नेछौं। राज्यलाई दोहन गर्ने र नेताहरूलाई समेत गुमराहमा राख्ने शक्तिहरू अब उम्कन पाउने छैनन्।’
उनले सरकारले गठन गरेको जाँचबुझ आयोग र संवैधानिक निकाय राष्ट्रिय मानव अधिकार आयोगले घटनाको गम्भीर अनुसन्धान गरिरहेको जानकारी दिँदै कारबाही प्रक्रियालाई कसैले पनि उल्ट्याउन नसक्ने गरी अगाडि बढाइएको दाबी गरे।
गृहमन्त्री अर्यालले आन्दोलनका क्रममा सहादत प्राप्त गरेका युवाहरूको सम्मानमा निर्माणाधीन संघीय संसद भवन परिसरमा उनीहरूको सालिक राखिने घोषणा गरे।
‘त्यहाँ (संसद भवनमा) अब नयाँ सांसदहरू प्रवेश गर्दा सुशासनका लागि लडेका शहीदहरूप्रति शिर झुकाएर जाने वातावरण हामी सिर्जना गर्छौं,’ उनले भने।
साथै, शहीदहरूको स्मृतिमा छुट्टै पार्क निर्माणका लागि स्थान समेत तय भइसकेको उनले जानकारी दिए।
प्रकाशित: २३ मंसिर २०८२ २०:३० मंगलबार





