नवनियुक्त प्रहरी महानिरीक्षक (आइजीपी) दान बहादुर कार्कीले पदभार सम्हालेकै दिन गृहमन्त्री ओमप्रकाश अर्यालसँगै जेन-जी आन्दोलनका घाइतेहरूसँग भेटवार्ता गरेका छन्।
गृह मन्त्रालयमा भएको भेटमा उनीहरूले घाइतेहरूको उचित उपचार र माग सम्बोधन गर्ने आश्वासन दिए।
भेटका क्रममा गृहमन्त्री अर्यालले आइजीपी कार्कीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै देशमा शान्ति, सद्भाव र अमनचैन कायम राख्न निर्देशन दिए।
उनले नजिकिँदै गरेको प्रतिनिधिसभा निर्वाचनका लागि चुस्त सुरक्षा व्यवस्था मिलाउन र प्रहरी संगठनको मनोबल उच्च राखेर नेतृत्वदायी भूमिका निर्वाह गर्न पनि आग्रह गरे।
जवाफमा, नवनियुक्त प्रहरी प्रमुख कार्कीले सरकारबाट प्राप्त हुने आदेश र निर्देशनको परिधिभित्र रही आफू र आफ्नो संगठन सधैं जनताको जिउधनको सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्न दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे।
औपचारिक भेटघाटलगत्तै गृहमन्त्री अर्याल र आइजीपी कार्कीले संयुक्त रूपमा जेन-जी आन्दोलनका क्रममा घाइते भएका दुई प्रतिनिधि र एक अभियन्तासँग मन्त्रालयमै भेट गरेका थिए।
सो क्रममा घाइतेहरूले सरकार र नयाँ प्रहरी प्रमुखसमक्ष आफ्नो उचित उपचार प्रबन्ध मिलाइदिन र जेन-जी आन्दोलनका न्यायोचित मागहरूलाई सम्बोधन गरिदिन आग्रह गरेका थिए।
प्रकाशित: २७ कार्तिक २०८२ १६:५० बिहीबार


-600x400.jpg)


