गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जी आन्दोलनका क्रममा फरार भएका कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेशन सञ्चालन गर्ने बताएका छन्।
उनले पटक-पटकको आग्रहलाई अटेर गरिएकाले अब सरकार कठोर रूपमा प्रस्तुत हुने बताए।
शनिबार काठमाडौंमा महासंघद्वारा आयोजित ‘राष्ट्रिय वृहत आर्थिक बहस २.०’ लाई सम्बोधन गर्दै मन्त्री अर्यालले उक्त अपरेशन सफल बनाउन नागरिकस्तरबाट पनि सहयोगको अपेक्षा गरिएको सुनाए।
गृहमन्त्री अर्यालका अनुसार आन्दोलनका क्रममा १४ हजार ५४९ कैदीबन्दी फरार भएकोमा हालसम्म ९ हजार ५२१ जना (६५ प्रतिशत) फिर्ता भइसकेका छन्। अझै ५ हजार १०५ जना (३५ प्रतिशत) फरार रहेको उनले जानकारी दिए।
‘कैदीबन्दीहरु अहिलेसम्म ६५ प्रतिशत फिर्ता भइसकेका छन्, अझै ३५ प्रतिशत बाहिर छन्,’ उनले भने, ‘हतियार र कैदीहरूलाई फिर्ता गर्न हामीले पटक-पटक सूचना निकाल्यौं, तर अझै धेरै बाहिर हुनुहुन्छ। अब उनीहरुलाई फिर्ता ल्याउन विशेष अपरेशन चलाउँछौं।’
त्यसैगरी, आन्दोलनका क्रममा लुटिएका ७१० वटा हतियार फिर्ता भइसकेको र केही जलेको अवस्थामा भेटिएको बताउँदै उनले बाँकी हतियार फिर्ता ल्याउनु चुनौतीपूर्ण रहेको स्वीकार गरे।
गृहमन्त्री अर्यालले सुशासन दिन नसके देशमा पुनः द्वन्द्व दोहोरिन सक्ने र त्यसले गम्भीर सुरक्षा संकट निम्त्याउन सक्ने खतरा औंल्याए।
‘सुशासन दिन सकेन भने द्वन्द्व दोहोरिन पनि सक्छ भन्ने एउटा ठूलो सन्देश अहिलेको घटनाले दिएको छ,’ उनले भने, ‘त्यो अवस्था सत्ता परिवर्तनको मात्रै होइन, सुरक्षा संकट नै निम्तिन सक्छ।’
उनले कानुनी राज्यको रक्षा गर्नु आफ्नो दायित्व भएको बताउँदै सरकार र निजी क्षेत्र एकअर्काका परिपूरक भएकाले अर्थतन्त्रको जगेर्ना गर्न सबैले आफ्नो दायित्व पूरा गर्नुपर्नेमा जोड दिए।
प्रकाशित: २२ कार्तिक २०८२ १८:२८ शनिबार





