नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाहीको माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदातलमा सुनुवाइ हुने भएको छ। न्यायाधीश डा. मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको रिटमा आज सुनुवाइ हुने भएको हो।
अधिवक्ता ज्ञानेन्द्रराज आरण, रामेछापका कल्याण बुढाथोकीसहितले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने आदेश माग गर्दै २०७९ साल फागुन २३ गते सर्वोच्चमा रिट दिएका थिए।
प्रचण्डले २०७६ माघ १ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधनका क्रममा १७ हजारमध्ये ५ हजार जनाको हत्याको जिम्मेवारी आफूले लिने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिलाई लिएर प्रचण्डले पाँच हजार व्यक्ति मारेको जिम्मेवारी लिने साबिती बयान दिएको र त्यसका आधारमा तत्काल प्रचलित कानुन बमोजिम पक्राउ गरी सजाय दिनुपर्ने भन्दै सर्वोच्चमा रिट परेको थियो।
'मान्छे मारे भन्ने छुट कसैलाई पनि छैन। व्यक्ति हत्या मैले नै गरेको हुँ भनेर कानुनलाई चुनौति दिंदा पीडित पक्षलाई चोट पर्नु स्वाभाविक हुन्छ। प्रचण्डको २०७६/१०/०१ गतेको सार्वजनिक स्वीकारोक्ति (हत्याको), हुँकार, कानुन हातमा लिएर दिएको सार्वजनिक अभिव्यक्ति, ५००० व्यक्ति मारेको भन्ने साविति बयान निम्न तर्क, आधार र कानुनले गैरकानुनी भएकोले निजलाई तत्काल प्रचलित कानुन बमोजिम पक्राउ गरी सजाय गर्नुपर्ने देखिन्छ। प्रचण्ड कानुन भन्दा माथि छैनन्,' रिटमा उल्लेख छ।
प्रकाशित: २१ पुस २०८२ १३:१६ सोमबार





