२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

हर्कले आयोगलाई बुझाए स्पष्टीकरण: प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको छैन

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(हर्क साम्पाङ)ले निर्वाचन आयोगलाई स्पष्टीकरण बुझाएका छन्। निर्वाचन आचार संहिता उल्लंघनबारे आयोगले सोधेको स्पष्टीकरण जवाफ साम्पाङले फर्काएका हुन्।

स्पष्टीकरणमा साम्पाङले आफ्नो पार्टीले चुनावी प्रचारमा बालबालिका  प्रयोग गरेको भन्ने आरोप ‘कपोलकल्पित, भ्रामक र दुःख दिने नियतले गरिएको उजुरी’ भएको टिप्पणी गरेका छन्। 

‘श्रम संस्कृति पार्टीले बालबालिकाहरूलाई चुनावी प्रचारप्रसारमा खटाउने निर्णय गरेको छैन, खटाएको, निर्देशन दिएको, फकाएर बोलाएको या कुनै प्रलोभन दिएर प्रचार गर्न लगाएको छैन,’ साम्पाङको स्पष्टीकरणमा भनिएको छ। 

आफ्नो फोटोसहितको टी–सर्ट लगाएको भन्ने विषयमा भने श्रमदाताले नै छापिदिएको उनले दाबी गरेका छन् । ‘म हर्कराज राई (हर्क साम्पाङ)ले देश विकासमा नयाँ आयामिक मोडल श्रमदानको मोडल ल्याएर सारा नेपालीलाई श्रमदान गर्न प्रेरित गरिरहेको यथार्थ देखेर मेरो फोटो राखेर टी–सर्टहरू छापी श्रमदाताहरूलाई दिँदा थप प्रेरणा र ऊर्जा मिल्छ भन्ना खातिर वैदेशिक रोजगारमा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूले यहाँका श्रमदाताहरूलाई टी–सर्त छापिदिने गरेको जानकारी गराउँदछु,’ साम्पाङले लेखेका छन्।

श्रमदानमा आउने अभिभावकले बालबालिकालाई सँगै लिएर श्रमदानमा आएको देखेर विदेशमा बस्ने सहयोगीले नै ती बालबालिकालाई पनि टी–सर्ट दिएको जानकारी पाएको उनले उल्लेख गरेका छन्। 

प्रकाशित: १४ माघ २०८२ १७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App