५ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

हर्क साम्पाङको पार्टीले पायो मान्यता

निर्वाचन आयोगले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई दलका रूपमा आधिकारिक मान्यता दिएको छ। यससँगै अब मुलुकमा एक सय २५ पार्टीले दलका रूपमा मान्यता पाएको आयोगले जनाएको छ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार साम्पाङको पार्टीले मान्यता पाउनुअघिसम्म मुलुकमा एक सय २४ वटा पार्टी थिए। ‘आजबाट एउटा पार्टी थपिएको छ’, उनले भने। उनका अनुसार जेनजी आन्दोलनपछि अरू १६ वटा पार्टी दलका रूपमा मान्यता पाउन पाइपलाइनमा छन्। ‘ती दलका विषयमा छानबिन भइरहेको छ। छानबिनपछि प्रक्रिया पूरा गरी दर्ताका लागि निवेदन दिएका समूहलाई राजनीतिक पार्टीको रूपमा प्रमाणपत्र दिने छौं’, घिमिरले भने।

आयोगका अनुसार जेनजी आन्दोलनपछि आयोगमा १७ वटा राजनीतिक दल दर्ताका लागि निवेदन परेका छन्। तीमध्ये श्रम संस्कृतिले मान्यता पाएको हो। साम्पाङले जेनजी आन्दोलनपछि नै पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका थिए।

आयोगका अनुसार दल दर्ताका लागि हालसम्म बुद्ध एयरका मालिकसमेत रहेका वीरेन्द्रबहादुर बस्नेतको गतिशील लोकतान्त्रिक पार्टी, सुरेन्द्र भण्डारीको नेपाल नागरिक पार्टी, ज्ञानेन्द्रकुमार तामाङको उज्यालो नेपाललगायतका पार्टीबाट दल दर्ताका लागि आयोगमा निवेदन परेको छ।

आयोगका अनुसार दल दर्ता प्रक्रिया आयोगको नियमित प्रक्रिया हो, तर यही फागुन २१ मा घोषणा गरिएको निर्वाचन प्रक्रियामा सहभागी हुन आयोगले आगामी मंसिर १ देखि १० सम्म निवेदन दिन सबै दलहरूलाई सूचना जारी गरेको छ। ‘पार्टीको रूपमा दल दर्ता भएका सबै दलहरूले मंसिर १ देखि १० सम्म आयोगमा दर्ता गरिसक्नु पर्छ’, उनले भने, ‘मंसिर १ देखि १० सम्म हुने दल दर्ता फागुन २१ मा हुने निर्वाचन प्रयोजनका लागि हुने छ।

थपिए एक लाख मतदाता

फागुन २१ को निर्वाचन प्रयोजनका लागि एक लाख चार सय ७५ जना नयाँ मतदाता थपिएका छन्। आयोगका अनुसार २०६४ फागुन २० सम्म जन्मिएका नेपाली नागरिकले फागुन २१ को निर्वाचनमा भाग लिन सक्ने छन्। आयोगले अनलाइनबाट मतदाता नामावलीमा नाम राख्न सकिने व्यवस्था मिलाएको छ।

फोटो खिचाउन भने नजिकैको निर्वाचन कार्यालयमा जानुपर्ने व्यवस्था छ। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एक करोड ८० लाख मतदाता थिए। आयोगले मतदाता नामावलीमा नाम राख्न आगामी कात्तिक ३० सम्मको समय दिएको छ। कात्तिक ३० पछि अनलानइनबाट फाराम भर्न नसकिने व्यवस्था आयोगले मिलाएको छ।

प्रकाशित: १७ कार्तिक २०८२ ०७:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App