१८ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

हर्क साम्पाङ राष्ट्रभक्त मान्छे, त्यसैले एमाले छाडेर श्रम संस्कृतिमा आएँ: सांसद राई

नेकपा एमालेको राजनीतिक यात्रा छाडेर श्रम संस्कृति पार्टीमा जोडिएका भोजपुरका सांसद ध्रुवराज राईले पार्टी अध्यक्ष हर्क साम्पाङको राष्ट्रभक्तिबाट प्रभावित भएर आफूले नयाँ बाटो रोजेको बताएका छन्।

बुधबार नागरिक न्युजको संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुरा गर्दै सांसद राईले यस्तो बताएका हुन्।

राईले एमालेभित्र इमानदार कार्यकर्ताको मूल्यांकन नभएको र नेतृत्वको निरन्तर पेलाइका कारण आफूले पार्टी छाडेको सुनाए।

निरन्तरको पेलाइ, वैचारिक विचलन र इमानदार पङ्क्तिलाई पाखा लगाउने खेल देखेपछि आफू निकट नेताहरूसँग विधिवत् रूपमा बिदा मागेर एमाले परित्याग गरेको उनको भनाइ छ।

एमाले छाडेपछि आफ्नो ध्यान हर्क साम्पाङको अभियानतिर तानिएको राईले सुनाए। साम्पाङको श्रमदान अभियान, माटो सुहाउँदो विचार र भ्रष्टाचारविरोधी अडानले आफूलाई आकर्षित गरेको उनको भनाइ छ।

‘हर्क साम्पाङ एउटा राष्ट्रभक्त मान्छे हो, माटोबाट स्थापित भएको मान्छे,’ राईले भनेका छन्, ‘उनी भ्रष्टाचार गर्दैनन् र अरुलाई पनि गर्न दिँदैनन्। यस्तो मान्छेलाई भावी प्रधानमन्त्री बनाउनुपर्छ भन्ने सोचका साथ म यो पार्टीमा आएको हुँ।’

साम्पाङसँग धेरै नजिकको संगत नभए पनि धरानको भानुचोकमा भएको छोटो भेटमै वैचारिक तालमेल मिलेपछि आफू श्रम संस्कृति पार्टीमा प्रवेश गरेको उनले बताए।

राजनीतिक दलहरूमा नेताहरूसँग धेरै नजिक हुँदा फाटो आउने डरले आफूले पार्टी अध्यक्षसँग ठिक्कको सम्बन्ध मात्र राखेको राईले औंल्याए।

श्रम संस्कृति पार्टीको उम्मेदवारका रूपमा भोजपुरबाट चुनाव लड्दा आफूले एमालेकै असन्तुष्ट कार्यकर्ताको बलमा चुनाव जितेको राईले दाबी गरेका छन्।

पूर्वमुख्यमन्त्री शेरधन राई र अर्का नेता राजेन्द्र राईलाई पराजित गर्दै संसद् पुगेका उनले आफूले पाएको मतमध्ये करिब ७० प्रतिशत भोट एमाले पृष्ठभूमिका मतदाताको रहेको सुनाए।

यसका साथै नयाँ पुस्ता र परिवर्तन खोज्ने ‘घण्टी’ समर्थक मतदाताको साथले पनि आफ्नो जित सम्भव भएको उनले खुलाए।

आगामी दिनमा संसद्‌मा प्रतिपक्षको बेन्चमा बसेर रचनात्मक भूमिका खेल्ने राईले बताएका छन्।

पार्टीले अहिले नै सरकारमा जाने हतारो नगरेको बताउँदै उनले एमसीसी जस्ता देशलाई दीर्घकालीन असर पर्ने सम्झौताको खारेजीका लागि सदनमा आवाज उठाउने बताए।

विदेशी ऋण लिएर देश चलाउने प्रवृत्तिको विरोध गर्दै उनले बरु एक छाक भोकै बस्ने तर देशलाई ऋणको भार नबोकाउने पार्टीको नीति रहेको प्रस्ट पारे ।

प्रकाशित: १८ चैत्र २०८२ २२:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App