श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नयाँ दल मान्न नसकिने बताएका छन्।
शनिबार ललितपुरमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्ता र शक्तिको अभ्यास गरिसकेका नेताहरूले आफूलाई नयाँ भनेर जनतामा भ्रम छरिरहेको आरोप लगाए।
रास्वपा सभापति रवि लामिछानेप्रति लक्षित गर्दै साम्पाङले उपप्रधान तथा गृहमन्त्री भइसकेको व्यक्तिले नेतृत्व गरेको दल कुनै हालतमा नयाँ हुन नसक्ने जिकिर गरे।
‘घण्टी बजाउँदै आएको दलले आफूलाई नयाँ भन्छ, तर त्यसको सभापति एकपटक उपप्रधान तथा गृहमन्त्री भइसकेको छ,’ उनले भने, ‘गृहमन्त्री हुँदा आफैँ सहकारी काण्डमा मुछिए। जिबी राईलाई खोजेर ल्याउनु पर्दैन ? उनीहरू नयाँ होइनन्, उनीहरूबाट केही ठोस काम हुन सक्दैन।’
साम्पाङले पुराना राजनीतिक दलहरू पूर्ण रूपमा असफल भइसकेको दाबी गरे। पटक-पटक परीक्षण भइसकेका तिनै दललाई फेरि मतदान गर्ने मतदातालाई उनले भेडाको संज्ञा दिए।
‘मान्छेले गल्ती गर्छ र गल्तीबाटै सिक्छ। तर एउटै गल्ती तीन-चार पटक दोहोर्याउने मान्छे होइन, भेडा हो,’ साम्पाङले भने, ‘चौथो-पाँचौं पटक पनि पुरानै दललाई भोट हाल्नेहरू कुकुरको पुच्छर हुन्, जसको कुनै उपाय छैन।’
जेन-जी आन्दोलनले देशमा परिवर्तन खोजेको र पुराना दलहरूलाई म्यान्डेट नदिएको उनको भनाइ थियो। देशलाई संकट पर्दा ठूला भनिने र सिद्धान्त घोकेका नेताहरू दुलोभित्र लुकेको आरोप लगाउँदै उनले त्यस्तो बेला आफू सडकमा आएको दाबी गरे।
आफूले देशको मायाले दिनरात काम गरिरहेको बताउँदै उनले थपे, ‘मलाई ढुंगे, गधा, गोरु, हर्के भनेर अपमानित गरियो। तर यो देशको माया लागेर, सानो बजेटमा पनि काम गर्न म निरन्तर खटिरहेको छु।’
सही र गलत छुट्याउन सक्ने सचेत नागरिकले अब पुराना र नयाँको आवरणमा आएका अवसरवादी दलहरूलाई भोट हाल्न नहुने भन्दै उनले श्रम संस्कृति पार्टीलाई समर्थन गर्न अपिल गरे।
प्रकाशित: १६ फाल्गुन २०८२ १८:४९ शनिबार





