बिहीबारको प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिलाई लिएर आलोचना गरे।
सरकारको नीति तथा कार्यक्रममाथिको संसद्मा जारी छलफलमा प्रधानमन्त्री उपस्थित नभएको भन्दै उनले ‘आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर नहुने’ भन्दै व्यंग्यात्मक प्रहार गरेका हुन्।
संसद् बैठकलाई सम्बोधन गर्दै सांसद साम्पाङले जसले नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो, उनले नै संसद्मा उठेका प्रश्न र छलफल सुन्नुपर्ने जिकिर गरे।
‘जसले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो, उहाँले नै हामीलाई सुनिरहनुभएको छैन। उहाँले लाइभमा सुन्नुहुन्छ वा भोलि सुन्नुहुन्छ होला, तर यो संसद्को मर्यादा र परम्परा विपरीत छ,’ उनले भने।
‘काग कराइरहने र पिना सुकिरहने’ प्रवृत्तिले संसद् सञ्चालन हुन नसक्ने भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।
‘आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन, त्यसैले जसको कार्यक्रम हो, उहाँले नै उत्तर दिनुपर्ने कार्यक्रम हुन्छ,’ साम्पाङले भने।
उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री स्वयं उपस्थित हुनेमा आफूले विश्वास लिएको उनले बताए। यदि प्रधानमन्त्री जवाफ दिने समयमा पनि उपस्थित नभए श्रम संस्कृति पार्टीले संसद् बैठक बहिष्कार गरेर बाहिरिने चेतावनीसमेत उनले दिए।
‘हामीले अरूबाट सुन्नुपर्ने स्थिति होइन, उहाँ नआए हामी बाहिरिनेछौं,’ उनले स्पष्ट पारे।
छलफलका क्रममा अघिल्लो रोमा बसेर आफूले धेरै समय अन्य सांसदहरूका भनाइ सुनेको उनले बताए। पूर्ववक्ता तथा अनुभवी सांसदहरूले राम्रा र ऐतिहासिक विचारहरू राखेको उल्लेख गर्दै उनले जीवन एक सिकाइ भएको र हरेक पल अरूबाट सिक्नुपर्ने धारणा राखे।
यति महत्त्वपूर्ण विषयमा छलफल भइरहँदा सरकारको नेतृत्व गरिरहेका प्रमुख नै उपस्थित नहुनु दुःखद भएको उनको भनाइ थियो।
‘हामी नेपाली त्यति धेरै जान्ने छौं, गफ गर्नुमा हामीलाई विश्वमा कसैले भ्याउँदैन,’ उनले भने, ‘५-५ घण्टा मन्तव्य राख्न सक्ने ज्ञान हामीसँग टन्न छ, तर देश बनाउन भने हामीले सकेनौं।’
ज्ञानको कमी कोहीसँग नभए पनि के कुरा नपुगेर देश बनेन भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको भन्दै उनले राजनीतिक दल र नेतृत्वको ध्यानाकर्षण गराए।
संसद्मा निरन्तर उठेका प्रश्नहरूलाई बेवास्ता गर्न नहुने भन्दै उनले प्रधानमन्त्रीको उपस्थितिको जोडदार माग गरेका हुन्।
प्रकाशित: ३१ वैशाख २०८३ १७:०९ बिहीबार





