श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रतिनिधिसभा बैठकमा कविता वाचन गर्दै गफको भरमा देश नबन्ने भन्दै श्रम, उत्पादन र आत्मनिर्भरतामा जोड दिएका छन्।
बिहीबार संसद्मा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले खेतबारी बाँझो राखेर परनिर्भर हुँदा देश गम्भीर संकटमा परेको भन्दै राजनीतिक नेतृत्व र समाजको यथार्थप्रति व्यंग्य गरेका हुन्।
रोस्ट्रममा उभिएर उनले सुनाए,
‘खेतबारी बाँझो राखी आकाशतिर हेर्दा,
डुब्न लाग्यो देश आज जिउने शैली फेर्दा।
गफैको भरमा मीठो खान र राम्रो लाउन खोज्दा,
होस गर नेपाली हो देशै गुम्ने दिन आइसक्यो।’
नेपालीहरू गफ गर्न खप्पिस भएको तर देश बनाउने काममा पछि परेको भन्दै उनले चिन्ता व्यक्त गरे। माटो र ढुंगालाई बेवास्ता गरेर देश आत्मनिर्भर बन्न नसक्ने उनको जिकिर थियो।
‘काठमाडौं उपत्यकाको नाका दुई दिन मात्र बन्द गरिदिने हो भने हामी भात र तरकारी खान नपाएर यो ठाउँ छोड्नुपर्ने स्थिति हुन्छ,’ सांसद साम्पाङले भने।
साँचो अर्थमा आर्थिक विकास गर्ने हो भने कृषिको कार्यक्रममा धेरै जोड दिनुपर्ने र हामीले लगाउने लुगासमेत स्वदेशकै कच्चा पदार्थबाट प्रशोधित भएर बन्नुपर्ने आवश्यकता उनले औंल्याए।
देश बनाउन नीति र कलमले मात्र नपुग्ने भन्दै उनले सबैले औजार समाउनुपर्ने बेला आएको बताए। काम गर्दा कोही पनि सानो नहुने सुनाउँदै उनले भने, ‘३ करोड नेपालीको ६ करोड हात एकैसाथ चलाउनुपर्छ। कलमले मात्रै बन्दैन देश, औजार समाउनुपर्छ अब। नीतिले मात्रै बन्दैन देश, श्रम र श्रमदान गर्नुपर्छ अब।’
संसद्मा अन्य सांसदहरूका लामो मन्तव्य सुनेको सन्दर्भ निकाल्दै उनले नेपालीहरूको बोल्ने क्षमताप्रति व्यंग्य गरे। ‘गफ गर्नुमा हामीलाई विश्वमा कसैले भ्याउँदैन। ५-५ घण्टा मन्तव्य राख्न सक्ने ज्ञान हामीसँग टन्न छ,’ उनले भने, ‘ज्ञानको कमी कोहीसँग छैन, तर देश बनाउन भने हामीले सकेनौं।’
यसैबीच, छलफलमा सरकारका प्रमुख अर्थात् प्रधानमन्त्री बालेन उपस्थित नभएको विषयलाई लिएर उनले आपत्ति जनाए। ‘आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन, जसले नीति तथा कार्यक्रम ल्याएको हो उहाँले नै उत्तर दिनुपर्छ,’ उनले भने।
प्रधानमन्त्रीले संसद्मा उठेका कुरा लाइभ वा पछि सुन्न सक्ने भए पनि संसद्मै उपस्थित नहुनु मर्यादा विपरीत भएको उनको ठहर छ।
‘काग कराइरहने र पिना सुकिरहने’ अवस्था आए संसद् चलाउन नसकिने भन्दै उनले प्रधानमन्त्री उपस्थित नभए श्रम संस्कृति पार्टी संसद् बहिष्कार गरेर बाहिरिने चेतावनीसमेत दिएका छन्।
प्रकाशित: ३१ वैशाख २०८३ १७:२५ बिहीबार





