प्रधानमन्त्री केपी शर्मा ओलीले जनै पूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धनको शुभकामना व्यक्त गरेका छन्।
'आज श्रावण शुक्ल पूर्णिमा, यस दिन हामी तीनवटा सांस्कृतिक पर्व जनै पूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धन मनाउँछौं,' सामाजिक सञ्जालमार्फत ओलीले शुभकामना दिँदै भने, 'वर्षे बाली लगाइसकेर चिसोबाट बच्न गेडागुडी खाने पर्वका रूपमा हाम्रा पुर्खाले यसलाई मनाउँदै आएका छन्।'
जनै पूर्णिमालाई सत्य, शुद्धता र स्वअनुशासनको प्रतीक मानिन्छ भने रक्षा बन्धनलाई आत्मीयजनको सम्बन्धलाई अटल बनाउने पर्वका रूपमा मनाइने उनले जिकिर गरे। साथै उनले प्राचीन विद्वानहरूका ज्ञानदीपले मानव सभ्यतालाई दिएको प्रकाशको सम्मान स्वरुप ऋषि तर्पणी मनाइने उल्लेख गरे।
उनले लेखेका छन्, 'जनै पूर्णिमालाई सत्य, शुद्धता र स्वअनुशासनको प्रतीक मानिन्छ भने रक्षा बन्धनलाई आत्मीयजनको सम्बन्धलाई अटल बनाउने पर्वका रूपमा मनाइन्छ। प्राचीन विद्वानहरूका ज्ञानदीपले मानव सभ्यतालाई दिएको प्रकाशको सम्मान स्वरुप ऋषि तर्पणी मनाइन्छ। सबैलाई जनै पूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धनको शुभकामना! सबैको जय होस्।'
प्रकाशित: २४ श्रावण २०८२ ०८:१९ शनिबार





