राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जेनजी मंसिर २३ गते काठमाडौंमा बृहत आन्दोलन गर्ने घोषणा गरेको छ । जेन-जी आन्दोलनपछिको परिवर्तित राजनीतिक परिस्थिति र आगामी राजनीतिक सहमतिको आवश्यकता औंल्याउँदै राप्रपाले मंसिर २३ गते काठमाडौंको रत्नपार्कमा आन्दोलन गर्ने घोषणा गरेको हो ।
आन्दोलनको समग्र तयारी र रणनीति निर्माण गर्न विशेष आन्दोलन परिचालन समिति पनि गठन भएको छ ।
समितिको नेतृत्व प्रवक्ता ज्ञानेन्द्र शाहीलाई दिइएको छ । पार्टीले शाहीलाई आन्दोलन परिचालन समितिको संयोजक तोकेको जनाएको छ । समितिमा प्रवक्ता गोपाल दाहाल, सह–महामन्त्री रबिन्द्र प्रताप शाह र सह–महामन्त्री धनबहादुर बुढा सदस्यका रूपमा चयन भएका छन्।
समितिको पहिलो बैठक आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको थियो । बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनका एजेन्डा तथा व्यवस्थापनबारे निर्देशन दिएका छन्।
बैठकमा २३ गतेको आन्दोलनलाई शान्तिपूर्ण, संगठित र सङ्ख्यात्मक रूपमा प्रभावशाली बनाउन आवश्यक तयारीबारे विस्तृत छलफल भएको थियो।
बैठकमा सहभागी नेताका अनुसार, जेनजी आन्दोलनपछिको ताजा परिस्थितिले राजनीतिक दल, युवापुस्तादेखि राजा संस्थासम्मबीच नयाँ प्रकारको सहमतिको आवश्यकता देखिएको र त्यसकै लागि राप्रपाले दबाबपूर्ण जन–आन्दोलनको मार्ग रोजेको छ ।
राजा हटाउने दलहरूले पनि वर्तमान अवस्थामा राजाको भूमिकाको पुनःपरिभाषा आवश्यक ठानेको निष्कर्ष पनि पार्टीले निकालेको छ ।
प्रकाशित: १७ मंसिर २०८२ १७:५३ बुधबार





