जेन-जी आन्दोलनका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई उनका समर्थकहरूले ‘आई लभ यु’ को नाराले स्वागत गरे।
शनिबार भक्तपुरको गुण्डुमा राष्ट्रिय युवा संघले आयोजना गरेको बडादसैंको अवसरमा आयोजित भेटघाट कार्यक्रममा ओलीप्रति कार्यकर्ताहरूले उत्साहजनक समर्थन प्रकट गरेका हुन्।
आन्दोलन र त्यसपछिको राजनीतिक उथलपुथलपछि पहिलो पटक कार्यकर्तामाझ देखा परेका ओलीलाई देख्नेबित्तिकै कार्यक्रमस्थल ‘केपी ओली, आई लभ यु’ र ‘नेकपा एमाले जिन्दावाद’ जस्ता नाराले गुञ्जिएको थियो।
उत्साहित कार्यकर्ताको नारा सुनेर ओलीले मुस्कुराउँदै हात हल्लाएर उनीहरूको अभिवादन स्वीकार गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका जेन-जी पुस्तालाई आवेगमा नआउन आग्रह गरे। उनले युवाहरूलाई कसैको उक्साहटमा लागेर देशको सम्पत्ति नष्ट गर्ने र हिंसाको बाटोमा नलाग्न सुझाव दिए।
‘जेन-जी घरैपिच्छे छन्, घरघरमै छन्। केही भाइबहिनीहरू संगठित हुनुभएको छ, तर केहीलाई गुमराहमा पनि राखिएको छ,’ ओलीले भने, ‘तपाईंहरू भर्खरको हुनुहुन्छ, धेरै बाँच्नु छ। यसरी नै आगजनी र तोडफोड गर्दै जाने हो भने, खरानीमाथि बसेर सुखी हुन सक्नुहुन्छ ?’
उनले युवाहरूलाई देश निर्माणमा लाग्न आग्रह गर्दै भने, ‘तपाईंहरू आवेगमा आउने होइन।’
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन सरकार ढलेको थियो र ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।
त्यसयता बालुवाटार छाडेपछि उनी सार्वजनिक कार्यक्रमहरूमा खासै देखिएका थिएनन्।
साथै, सोही कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता महेश बस्नेतले जने-जी आन्दोलन अराजकता विदेशी शक्तिहरूको डिजाइनमा भएको दाबी गरे। उनले नयाँ पुस्ताको दिमागमा विष भरेर देशलाई प्रतिशोधको राजनीतिमा धकेल्ने गम्भीर षड्यन्त्र भइरहेको सुनाए।
उनले आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, राष्ट्रपति भवन, पार्टी कार्यालय र सयौं घरहरू जलाइएको भन्दै यो नेपाली समाजले कहिल्यै स्वीकार्न नसक्ने घटना भएको सुनाए। ‘हामीले प्रतिपक्षमा हुँदा आन्दोलन गर्दा, कांग्रेसले ढुङ्गामुढा र चक्काजाम गर्यो भन्थ्यो, तर हामीले कहिल्यै राष्ट्रिय सम्पत्ति नष्ट गरेनौं,’ बस्नेतले भने।
नेता बस्नेतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिँदासम्म देशका प्रमुख संरचनाहरू सुरक्षित रहेको तर उनले राजीनामा दिएपछि सुनियोजित रूपमा आगजनी र तोडफोड सुरु भएको दाबी गरे।
उनले यो सम्पूर्ण घटनाक्रम अन्तर्राष्ट्रिय शक्तिको डिजाइन र ‘डिप स्टेट’ को अवधारणा लागू गर्ने प्रयास भएको आरोप लगाए।
‘विदेशी एजेन्सीका दलाल र एजेन्ट बनेर, डार्क इनर्जी बोकेर आफूलाई सेलिब्रेटी भन्नेहरूको डिजाइनमा यो हत्या भएको छ,’ उनले भने, ‘तिमीहरूको देश ध्वस्त पार्ने सपना कदापि पूरा हुन दिइने छैन। यहाँ नेकपा एमाले छ, यहाँ केपी ओली छ, यहाँ महेश बस्नेत छ।’
उनले एमाले र लोकतन्त्रवादी शक्तिहरूले देशमा लोकतन्त्र र संविधानलाई समाप्त पार्न नदिने दृढता व्यक्त गरे। ‘सावधान ! नेकपा एमाले र युवा संघ फेरि पनि यो धर्तीमा छ,’ उनले भने, ‘हामी लोकतन्त्र र संविधानलाई ध्वस्त पार्न दिँदैनौं।’
प्रकाशित: ११ आश्विन २०८२ १५:०३ शनिबार





