१६ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

सामाजिक सञ्जाल नियमनमा सरकार, भ्रामक विज्ञापन २४ घण्टाभित्र हटाउन निर्देशन

काठमाडौं, असार ४ । नेपाल सरकारको विज्ञापन बोर्डले सामाजिक सञ्जालमार्फत प्रसारित भइरहेका भ्रामक तथा गैरकानुनी विज्ञापनप्रति कडाइ गर्दै त्यस्ता सामग्री २४ घण्टाभित्र हटाउन सम्बन्धित सबैलाई निर्देशन दिएको छ।

बोर्डले बिहीबार सूचना जारी गर्दै फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, टिकटक, युट्युब लगायत सामाजिक सञ्जालमा आवश्यक लेबलिङ, लाइसेन्स तथा आधिकारिक प्रमाणीकरणबिना औषधिजन्य पदार्थ र सामग्रीको भ्रामक विज्ञापन व्यापक रूपमा फैलिएको जनाएको हो।

सूचनामा कपाल उमार्ने, कपाल लामो वा बाक्लो बनाउने, छाला रोग तथा यौनसम्बन्धी पीडा कम गर्ने, शरीरको बोसो घटाउने, गोरो बनाउने, शरीरका विभिन्न अंगको आकार परिवर्तन गर्ने लगायतका दाबी गरिएका विज्ञापनहरू सामाजिक सञ्जालमा बढ्दो रूपमा देखिएको उल्लेख छ।

विज्ञापन बोर्डका अनुसार यस्ता विज्ञापनले उपभोक्तालाई भ्रमित पार्नुका साथै सामाजिक सञ्जालसम्बन्धी प्रचलित कानुन र विज्ञापन नियमन ऐन २०७६ को दफा ९ तथा अन्य कानुनी व्यवस्थाविपरीत हुने भएकाले तत्काल हटाउन निर्देशन दिइएको हो।

बोर्डले चेतावनी दिँदै आवश्यक स्वीकृति र आधिकारिक प्रमाणीकरणबिना औषधि तथा स्वास्थ्यसम्बन्धी सामग्रीको विज्ञापन प्रकाशन वा प्रसारण गरिएको पाइएमा सम्बन्धित व्यक्ति वा संस्थाविरुद्ध विज्ञापन नियमन ऐन २०७६ अनुसार कारबाही गरिने जनाएको छ।

सूचनामा २४ घण्टाभित्र त्यस्ता विज्ञापन हटाई भविष्यमा यस्ता सामग्री प्रकाशन वा प्रसारण नगर्न/नगराउन आग्रह गरिएको छ। अन्यथा नियमानुसार थप कानुनी प्रक्रिया अघि बढाइने बोर्डले स्पष्ट पारेको छ।

प्रकाशित: ४ असार २०८३ १६:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App