राष्ट्रपति रामचन्द्र पौडेलले देशमा काम गरेर केही हुँदैन भन्ने धारणामा परिवर्तन ल्याउन सरकारले ढिला गर्न नहुने बताएका छन्।
सिंहदरबारस्थित संसद् भवनमा शुक्रबार आयोजित संयुक्त बैठकमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्। उनले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न र श्रमको उचित प्रतिफल उपलब्ध गराउनतर्फ सरकारको ध्यान जान आवश्यक रहेको भनाइ राखे। 'श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न र श्रमको उचित प्रतिफल उपलब्ध गराएर देशमा काम गरेर केही हुँदैन भन्ने धारणामा परिवर्तन ल्याउन सरकारले ढिला गर्ने छैन भन्ने पनि मेरो विश्वास छ।'
उनले निराश जनशक्तिबाट कुनै पनि मुलुकको उन्नति भएको नपाइएको बताए। हाल युवा तथा शिक्षित बेरोजगारहरूमा देखिएको निराशाको अवस्थालाई तोड्न सरकारले विशेष ध्यान केन्द्रित गर्नुपर्ने उनको जिकिर छ।
'निराश जनशक्तिबाट कुनै पनि मुलुकको उन्नति भएको पाइँदैन,' उनले भने, 'हाल युवा तथा शिक्षित बेरोजगारहरूमा देखिएको निराशाको अवस्थालाई तोड्न सरकारले विशेष ध्यान केन्द्रित गर्नेछ।'
प्रकाशित: २७ चैत्र २०८२ १६:१२ शुक्रबार





