नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकार स्वेच्छाचारिता र अधिनायकवादको बाटोमा अघि बढिरहेको बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सरकार राजनीतिक दल, संसद् र नागरिक कसैसँग पनि संवाद गर्न तयार नरहेको बताए।
सम्बोधनका क्रममा पोखरेलले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने राष्ट्रिय मुद्दामा दलहरूलाई एक ठाउँमा ल्याउन कोसिस गरिरहनुभएको छ, तर सरकार भने राजनीतिक दल, संसद् र नागरिक कसैसँग पनि संवाद गर्दैन।’ उनले थपे, ‘विद्यमान चुनौतीको सामना गर्न सरकार संकल्पसमेत गर्दैन, जुन अत्यन्त चिन्ताको विषय बनेको छ।’
जनताको विश्वासबाट निर्वाचित प्रधानमन्त्रीले नै नागरिकका आवाज नसुन्ने स्थिति पैदा हुनु लोकतन्त्रका लागि खतरा भएको उनको भनाइ छ।
विगतको इतिहास स्मरण गराउँदै एमाले महासचिव पोखरेलले निरंकुशताविरुद्ध वामपन्थी र लोकतान्त्रिक शक्तिहरू मिलेर संघर्ष गरेको बतए।
‘हिजो जसरी वामपन्थी र लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिएर राणाशासन, पञ्चायत र राजा ज्ञानेन्द्रको निरंकुशताविरुद्ध लडेका थियौँ, त्यसरी नै अहिले फेरि लोकतन्त्रको भविष्य जोगाउन कांग्रेससहित सम्पूर्ण लोकतान्त्रिक र वामपन्थी शक्तिहरू मिलेर अघि बढ्नुपर्ने समय आएको छ,’ उनले भने।
लोकतन्त्र र देशको सार्वभौमसत्ताको रक्षाका लागि नेकपा ९एमाले० नेपाली कांग्रेससँग सहकार्य गर्न पूर्ण रूपमा तयार उनको भनाइ छ।
प्रकाशित: १८ आश्विन २०८३ १७:२८ आइतबार





