जग्गासम्बन्धी सेवालाई प्रविधिमैत्री र सहज बनाउने उद्देश्यले नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सञ्चालनमा ल्याएको छ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले एक विशेष समारोहबीच उक्त एपको औपचारिक उद्घाटन गरिन्।
अब नागरिकले जग्गाको नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार र फिल्ड रेखाङ्कन जस्ता महत्त्वपूर्ण सेवाहरू घरमै बसेर लिन सक्नेछन्।
यो एप एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध रहेको र प्ले स्टोर वा एप स्टोरबाट सहजै डाउनलोड गर्न सकिने विभागले जनाएको छ।
सेवाग्राहीले अनलाइन आवेदन दिएपछि प्रणालीमार्फत प्राप्त हुने ‘ओटीपी’ प्रयोग गरी आफ्नो निवेदनको अवस्था नियमित रूपमा हेर्न सक्ने व्यवस्था मिलाइएको छ।
यसका साथै, राजस्व भुक्तानीका लागि ई-सेवा, खल्ती र कनेक्ट आईपीएस जस्ता डिजिटल वालेटहरू एपमा एकीकृत गरिएको छ। फिल्ड रेखाङ्कनका लागि लाग्ने दस्तुरसमेत अनलाइनबाटै तिर्न सकिनेछ।
एप सार्वजनिक गर्दै मन्त्री प्रतिभा रावलले सूचना प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार गर्नु सरकारको प्राथमिकता रहेको बताइन्।
‘जग्गासम्बन्धी सेवा लिन सेवाग्राहीले कार्यालय धाउनुपर्ने र लाइन बस्नुपर्ने बाध्यता क्रमशः अन्त्य हुँदै गएको छ,’ उनले भनिन्, ‘यो एपले सेवा प्रवाहलाई थप सहज, छरितो, पारदर्शी र प्रभावकारी बनाउनेछ।’
डिजिटल सुशासनलाई सुदृढ बनाउन प्रविधिमैत्री सेवाहरू विस्तार गर्दै लैजाने प्रतिबद्धतासमेत मन्त्री रावलले व्यक्त गरिन्।
‘मेरोकित्ता’ एपमा सम्बन्धित नापी कार्यालयका प्रमुख तथा सूचना अधिकारीको सम्पर्क नम्बरसमेत उपलब्ध हुने भएकाले सेवाग्राहीलाई थप सहज हुने अपेक्षा गरिएको छ।
नापी विभागका अनुसार यो सेवा मोबाइल एपका साथै वेब संस्करणमा पनि उपलब्ध छ।
प्रविधिको यो प्रयोगले मालपोत र नापी कार्यालयहरूमा हुने भिडभाड कम गर्न र बिचौलियाको प्रभाव न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विभागको विश्वास छ।
प्रकाशित: २१ जेष्ठ २०८३ १६:५९ बिहीबार





