सरकारले हालैको जेन-जी आन्दोलनका क्रममा क्षति भएका भौतिक संरचनाहरूको पुनर्निर्माणका लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गर्ने घोषणा गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ भन्ने संकल्पका साथ कोष स्थापना गरिएको र यसमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई आयकरमा छुट दिइने बताए।
बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री घिसिङले जेन-जी पुस्ताले उठाएको सुशासन, पारदर्शिता र जवाफदेहिताको जगमा बनेको वर्तमान सरकार आम नागरिकको भरोसा बन्न चाहेको सुनाए।
‘यो सरकार मुलुकको समुन्नतिमा आम नागरिकको भरोसा बनेर अगाडि बढिरहेको छ,’ उनले भने, ‘यहाँहरुको साथ, सल्लाह र सुझावलाई सरकारले आफ्नो मार्गनिर्देशन मानेको छ।’
मन्त्री घिसिङले आन्दोलनमा भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनःस्थापना र राहतका लागि यो कोष एक राष्ट्रिय आह्वान भएको स्पष्ट पारे।
कोषमा सहयोगका लागि नेपाल सरकारका तीनै तह (संघ, प्रदेश, स्थानीय), निजी क्षेत्र, गैरआवासीय नेपाली, गैरसरकारी संस्था, मित्र राष्ट्रहरू, विकास साझेदार र दाता निकायहरूलाई आह्वान गरिएको छ।
कोषमा जम्मा गरिएको रकम आयकर प्रयोजनका लागि खर्च कट्टी गर्न पाइने व्यवस्था मिलाइएको मन्त्री घिसिङले जानकारी दिए।
प्रकाशित: ९ आश्विन २०८२ १६:२४ बिहीबार





