१३ आश्विन २०८३ मंगलबार
image/svg+xml
राजनीति

सरकारले लोकतन्त्रका मूल्य, मान्यतालाई आत्मसात् गरेको पाइएन : नेता आङदेम्बे

प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेपली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्ने बताएका छन्। सरकारका कतिपय कदमले लोकतन्त्रका मूल्य, मान्यतालाई आत्मसात् नगरेको पाइएको उनले बताए।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार पाँचथरको फिदिममा आयोजित कांग्रेस प्रदेशसभा क्षेत्र नं १ र २ को अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस संसदीय दलका नेता आङदेम्बेले प्रहरी पनि कानुनको कार्यान्वयन गर्ने निकायभन्दा आदेशपालक जस्तो भएको टिप्पणी गरे।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणालाई मध्यरातमा पक्राउ गर्ने काम लोकतान्त्रिक नभएको बताउँदै नेता आङदेम्बेले राणालाई पक्राउ गर्ने र छोड्ने कुरा केटाकेटी खेलजस्तै भएको टिप्पणी गरे। पूर्वप्रधानन्यायाधीश राणालाई राष्ट्रिय मानवअधिकार आयोगको टोलीलाई समेत भेट्न नदिने र नियन्त्रणमा राख्नुको कारण स्पष्ट पार्न उनले सरकारसँग माग गरे।

'हामीले सरकार पाँच वर्ष नै चलोस् भन्ने चाहेका छौँ। लोकतन्त्रप्रति, दलहरूप्रति नागरिकको भरोसा नटुटोस् भन्न चाहेका छौँ,' नेता आङ्देम्बेले भने। नेता आङदेम्बेले कांग्रेसमा १३ हजारभन्दा बढी युवाहरू एकैपटक सामेल भएको बताउँदै जेनजी पुस्ताका युवाहरू वडादेखि केन्द्रसम्म पाँच तहमा नेतृत्व तहमा पुगेर नवीन कांग्रेस निर्माण भएको बताए। उनले अब कांग्रेसमा प्यानल खडा नहुने  बताए।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य नरेन्द्रकुमार केरुङले सरकारको कार्यशैलीको आलोचना गर्दै कांग्रेसले संसद् र बाहिरबाट सरकारलाई सकारात्मक सहयोग गर्दै आएको बताए। पाँचथरमा जारी कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट ३४ केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित हुने कांग्रेस पाँचथरका सचिव दीपक नेपालले जानकारी दिए।

प्रकाशित: १३ आश्विन २०८३ ०६:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App