नेकपा एमाले महासचिव शंकर पोखरेलले सरकार निर्वाचनको वातावरण बनाउन असफल भएको आरोप लगाएका छन्। माघ ६ गते उम्मेदवारी घोषणा भइसकेको भए पनि शान्ति–सुरक्षाको प्रत्याभूति हुन नसकेको उनको भनाइ थियो।
प्रेस चौतारी दाङले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट तथा सम्मान कार्यक्रममा बोल्दै उनले शान्ति–सुरक्षाको अवस्था कमजोर रहेको उल्लेख गर्दै प्रहरीको मनोबल बढाउनु मुख्य आवश्यकता भएको बताए। 'प्रहरी हत्या गर्ने, हतियार लुट्ने र कार्यालय ध्वस्त बनाउनेले दण्ड नपाउँदासम्म पूर्ण शान्ति–सुरक्षा सम्भव हुँदैन,' उनले भने। राज्य नागरिकको भरोसा भएको उल्लेख गर्दै अपराधमा संलग्नहरू राज्यसँग डराउने अवस्था नबन्दासम्म समाजमा अराजकता फैलिरहने चेतावनी दिए।
महासचिव पोखरेलले आन्दोलनका क्रममा लुटिएका हतियार र कैदीबारे छानबिन गर्नुपर्ने, राजनीतिक दलहरू जनताबीच निर्वाध रूपमा जान पाउने वातावरण निर्माण गर्नुपर्ने बताए। एमालेले संगठित रूपमा गतिविधि नबढाउँदा पनि समाजमा शान्ति कायम गर्न सहयोग पुगेको र अन्य दलहरूलाई पनि गतिविधि सञ्चालन गर्न मद्दत भएको उनको दाबी थियो।
अन्तर्राष्ट्रिय सन्दर्भ उल्लेख गर्दै उनले विश्व व्यवस्थामा हलचल देखिएको र संयुक्त राष्ट्रसंघको संरचना कमजोर पार्ने प्रयासले नेपाल जस्तो संवेदनशील मुलुक सतर्क हुनुपर्ने बताए। 'आधुनिक विश्वको आधार अन्तर्राष्ट्रिय एकता हो, तर आज विश्वव्यवस्था खलबलिएको छ,' उनले भने।
संविधान 'घाइते' बनाइएको अवस्थामा संसद पुनःस्थापनाको बाटोमा जानु आजको आवश्यकता भएको उनको भनाइ थियो। चुनाव हुने अवस्था आए एमाले निर्वाचनबाट नभाग्ने र जनादेशबाट मुलुकलाई व्यवस्थित गर्न तयार रहेको उनले स्पष्ट पारे।
पार्टी अद्यावधिक हुने प्रक्रियाबारे बोल्दै उनले राजनीतिक दल पुराना–नयाँ नभई नीति र नेतृत्व अद्यावधिक गर्ने आधारमा नयाँ हुने बताए। 'रास्वपाभन्दा एमाले बढी अद्यावधिक नयाँ पार्टी हो,' उनले भने। पपुलिजमलाई लोकतन्त्र नभई अराजकतावादको संज्ञा दिँदै यसले लोकतन्त्रलाई खतरातर्फ धकेल्ने चेतावनी दिए।
आमनिर्वाचनको विषयमा एमाले छलफलमै रहेको जनाउँदै उनले १६५ सिटमै उम्मेदवार तय गरेर अघि बढ्ने तयारी रहेको बताए। केही क्षेत्रमा सहकार्यका लागि संवाद भइरहेको र विप्लव समूह तथा प्रगतिशील दलहरूले एमालेसँग सहकार्यको इच्छा व्यक्त गरेको पनि उनले जानकारी दिए।
प्रकाशित: १ माघ २०८२ ११:२१ बिहीबार





