१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

सरकारले निर्वाचनको वातावरण नै बनाउन सकेन: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान संघीय सरकारले निर्वाचनको वातावरण बनाउनै नसकेको आरोप लगाएका छन् ।  

नेकपा एमालेको स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री कार्कीले वर्तमान सरकारले चुनावको वातावरण बनाउन नसकेको दाबी गर्दै भने, ‘पुलिसको गोलीगठ्ठा र हतियार खोसिएका छन् । बर्दी खोसिएका छन्, ती अहिलेसम्म फिर्ता भएका छैनन्। यस्तो अवस्थामा कसरी शान्ति–सुरक्षाको व्यवस्था र चुनाव सम्भव हुन्छ?’

शनिबार धनकुटामा नेकपा (एमाले)ले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले  सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेकाले चुनाव हुन नसक्ने दाबी गरे । उनले प्रश्न गर्दै भने, ‘प्रहरीका कार्यालय जलेका छन् । सवारीसाधन जलेका छन्। के प्रहरीले साइकल र घोडामा चढेर शान्ति–सुरक्षा दिन सक्छ ?’

सरकारले चुनावको वातावरण बनाए एमालेले चुनावमा सक्रियताका साथ सहभागिता जनाउने बताए । उनले भने, ‘संविधानलाई बाइपास गरेर बनेको सरकारले चुनाव गर्न सक्दैन। अब संसद पुनर्स्थापना गरेर सबै पक्षलाई समेटेर मात्र नयाँ सरकार गठन गरी चुनावमा जानुपर्छ।’

अहिलेको सरकारले गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको समितिलाई आफूहरूले स्वीकार गर्न नसकिने पनि कार्कीले बताए । उनले भने, ‘गौरीबहादुर कार्कीको छवि विवादित छ । उनको नेतृत्वमा रहेको समितिले निष्पक्ष छानबिन गर्न सक्दैन। सबैले स्वीकार गर्न सक्ने समिति बने मात्र एमालेले त्यसलाई मान्यता दिनेछ।’

प्रकाशित: ९ कार्तिक २०८२ २०:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App