नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकारले सार्वजनिक संस्थाको वास्तविक समस्या समाधान गर्नुको सट्टा सामान्य सुधारलाई ‘चमत्कार’ को रूपमा प्रस्तुत गरिरहेको बताएका छन्। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै थापाले सार्वजनिक संस्थामा करिब ६ खर्ब रुपैयाँ लगानी रहे पनि त्यसअनुसार प्रतिफल आउन नसकेको र घाटामा रहेका संस्थालाई समेत करदाताको पैसाबाट निरन्तर धान्नुपर्ने अवस्था रहेको बताए।
दुग्ध विकास संस्थानको उदाहरण दिँदै थापाले दैनिक बिक्री ६० लाख रुपैयाँबाट ९० लाख रुपैयाँ पुगेको विषयलाई नाफा बढेको अर्थमा प्रस्तुत गर्न नमिल्ने बताए। किसानको दूध भुक्तानीसम्बन्धी बक्यौता घटेको भए पनि त्यसमा सरकारबाट उपलब्ध गराइएको रकमको भूमिका रहेको उनको भनाइ थियो।
थापाले नेपाल वायुसेवा निगमको अवस्थाप्रति पनि सरकार गम्भीर हुनुपर्ने बताए। निगममा करिब ५६ अर्ब रुपैयाँ ऋण तथा १७ अर्ब ६८ करोड रुपैयाँ सञ्चित नोक्सानी रहेको उल्लेख गर्दै उनले सामान्य रूपमा आम्दानी वा यात्रु अकुपेन्सी बढेको विषयलाई मात्र उपलब्धिका रूपमा प्रस्तुत गर्न नहुने बताए। निगमको पुनर्संरचना र दीर्घकालीन सुधारका लागि ठूलो जोखिम उठाउनुपर्ने उनको भनाइ थियो।
हेटौंडा कपडा उद्योग सञ्चालनको विषयमा पनि थापाले सरकारले वास्तविक बजार र प्रतिस्पर्धाको समस्यालाई बुझ्नुपर्ने बताए। उनका अनुसार नेपालमा वार्षिक करिब ७५ देखि ९० करोड मिटर कपडाको आवश्यकता रहे पनि हेटौंडा कपडा उद्योग पूर्ण क्षमतामा सञ्चालन हुँदा करिब १ करोड ६० लाख मिटर मात्र उत्पादन गर्न सक्ने अवस्था छ।
नेपालको वास्तविक समस्या कुनै एउटा सरकारी उद्योग सञ्चालन गर्नु मात्र नभएको भन्दै थापाले निजी क्षेत्रका उद्योगलाई प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए। चोरी पैठारी तथा सस्तो आयातका कारण नेपाली उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्न नसकेको उनको भनाइ थियो।
औषधि उद्योगको अवस्थाबारे पनि थापाले सरकारको ध्यानाकर्षण गराए। नेपालमा औषधिको बजार करिब ६५ अर्ब रुपैयाँको रहेको र त्यसको करिब आधा हिस्सा नेपाली उत्पादकले आपूर्ति गर्ने गरेको उल्लेख गर्दै उनले आफू स्वास्थ्य मन्त्री हुँदा औषधि क्षेत्रमा आत्मनिर्भरता बढाउन गरिएका निर्णय कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे।
प्रकाशित: २४ श्रावण २०८३ १६:२४ आइतबार





