नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको काम गर्ने गति, नीति र प्राथमिकता सही दिशामा नरहेको बताएका छन्। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले पार्टीले गर्नुपर्ने काम नगर्ने र नगर्नुपर्ने काममा अल्झिने अवस्था देखिएको भन्दै आत्मसमीक्षा गर्नुपर्ने बताए।
सभापति थापाले कांग्रेसको अहिलेको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै भने, ‘हाम्रो गति पनि ठिक छैन। हाम्रो मति पनि ठिक छैन। हाम्रो फोकस मिलिरहेको छैन। जे नगर्नुपर्ने हो, त्यो गरिरहेका छौँ। जे गर्नुपर्ने हो, त्यो गरिरहेका छैनौँ।’
उनले पार्टीले बोल्नुपर्ने विषयमा नबोलेको र बोल्न नपर्ने विषयमा बोलिरहेको भन्दै नागरिकसमक्ष आफ्ना कुरा पनि प्रभावकारी ढंगले राख्न नसकेको बताए। ‘जे भन्नु नपर्ने हो, त्यो बोलिरहेका छौँ। जे भन्नुपर्ने हो, त्यो बताइरहेका छैनौँ। जे बताउनुपर्ने हो, त्यो पनि ढंगले बताइरहेका छैनौँ,’ थापाले भने।
नागरिकले कांग्रेसमाथि ठूलो भरोसा राखेको भए पनि पछिल्लो समय उनीहरू असन्तुष्ट र निराश बनेको भन्दै समयमै सम्बोधन गर्न नसके त्यसले कुनै पनि बेला प्रतिरोधको रूप लिन सक्ने उनको भनाइ छ।
थापाले करिब एक वर्षअघि संसद्को पहिलो लहरमा उभिएर आफूले व्यक्त गरेका विचार अहिले पनि सान्दर्भिक भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवासँग बन्द कोठाभित्र आफूले पटक–पटक राखेका विषय सुनुवाइ नभएपछि संसद्मा ती कुरा सार्वजनिक गर्नुपरेको बताए।
२०८० साल साउनमा कांग्रेस केन्द्रीय समितिको बैठकमा महामन्त्रीका रूपमा आफूले राखेको फरक मत त्यतिबेलै शासन व्यवस्थामा जरो गाडेको भ्रष्टाचार र कुशासनका कारण सरकार, राजनीतिक दल, राजनीतिकर्मी तथा राज्यका सबै निकायप्रति नागरिकमा व्यापक असन्तुष्टि र आक्रोश बढिरहेको औँल्याएको स्मरण गरे।
त्यसबेला आफूले नागरिकमा असन्तुष्टि मात्रै नभई क्रमशः प्रतिरोधको भावना विकास भइरहेको र समयमै त्यसलाई सम्बोधन गर्न नसके ठूलो चुनौती सामना गर्नुपर्ने चेतावनी दिएको थापाले बताए।
कांग्रेसभित्र यस विषयमा विगतदेखि नै छलफल हुँदै आएको पनि उनले उल्लेख गरे। पार्टीका वरिष्ठ नेता अर्जुननरसिंह केसीले समेत एकपटक नेपालले बंगलादेशको जस्तो अवस्था सामना गर्नुपर्ने हुन सक्ने भन्दै पार्टी बैठकमा लिखित रूपमा धारणा राखेको थापाले स्मरण गरे।
तर त्यतिबेला नागरिकको असन्तुष्टिलाई गम्भीरतापूर्वक लिनुको सट्टा निर्वाचनलाई जनमतको मुख्य आधार मान्दै सरकार र राजनीतिक दलप्रति जनताको असन्तुष्टिलाई बेवास्ता गरिएको उनको भनाइ छ।
‘जनताको बारेमा कसैले पनि जिम्मा लिएर कुरा गर्न आवश्यक छैन, किनकि जनताले हामीलाई निर्वाचित गराएर पठाएका छन् भन्ने तर्क गरियो। सरकार पनि हाम्रो छ, हामी निर्वाचित भएर आएका छौँ भन्ने आधारमा नागरिकका असन्तुष्टिका विषयलाई टाल्ने काम भयो,’ थापाले भने।
प्रकाशित: २४ श्रावण २०८३ १५:५८ आइतबार





