कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पाले बहुविवाहलाई मान्यता दिनेगरी संशोधन गरिएको भनिएको प्रावधानको विरोध गरेका छन्। शुक्रबार (आज) बसेको प्रदेशसभा बैठकमा भाग लिँदै शेर्पाले उक्त प्रावधानको विरोध गरेका हुन्।
उनले उक्त प्रावधान संविधान र त्यसअन्तर्गत बनेको मुलुकी अपराध संहितालगायतका कानूनको विपरीत रहेको उल्लेख गरेका छन्। 'नेपालको संविधानले बहुविवाहलाई अस्वीकार गरेको छ र नेपालको संविधानअनुसार बनेको मुलुकी अपराध संहिताले बहुविवाहलाई पूर्णत: निषेध गरेको छ। यद्यपि, हालै नेपाल सरकार कानून मन्त्रालयले मुलुकी अपराध संहिताको दफा १७५ लाई संशोधन गरी कुनै विवाहित पुरुषले अरु महिलासँग सम्बन्ध कायम गरेर घरबार रहेमा वा बच्चा जन्मेमा स्वत: विवाह सम्बन्ध कायम हुने गरी चाहिँ जुन मस्यौदाचाहिँ तयार पारिसकेको मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले आधिकारिक रूपमा जानकारी गराइसकेका छन्। त्यसकारण यो मन्त्रालयका सचिवको विषय होइन, यो अहिलेको चाहिँ नेपाल सरकारको मन्त्रिपरिषद्को विषय हो। र, अहिलेको नेपाल सरकारको चाहिँ महिलाहरूलाई हेर्ने दृष्टिकोण के रहेछ, बहुविवाहप्रति दृष्टिकोण के रहेछ भन्ने यहीँबाट पुष्टि हुन्छ,' उनले भनेका छन्।
बहुविवाहलाई निषेध गरिएको सात वर्ष पुगेको र संशोधित यो प्रावधानले केही मन्त्री र भीभीआईपीहरू कति उकुसमुकुसमा रहेछन् भन्ने थाहा भएको शेर्पाको भनाइ छ। 'मुलुकी अपराध संहिताले बहुविवाह निषेध गरेको सात वर्ष भएको छ र अहिलेको सरकार र मन्त्रीहरू र भीभीआईपीहरूलाई सात वर्षसम्म बहुविवाह निषेध हुँदा छटपटी र उकुसमुकुस भएको रहेछ भन्ने कुरा पनि यहाँबाट पुष्टि हुन्छ। यो गर्नु सरासर गलत छ, यो जनयुद्ध, जनआन्दोलन, महिला मुक्ति आन्दोलनको क्रममा हजारौं महिलाहरूले सङ्घर्ष, बलिदान गरेर स्थापित गरेको अधिकार मूल्य र मान्यताविपरीत छ। यो प्रतिगामी हर्कत तुरुन्त बन्द गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,' उनले भनेका छन्।
शेर्पाले यसलाई प्रतिगामनकारी हर्कत भनेका छन्। सरकारको यो हर्कत देख्दा आफूलाई पनि मुक्तक फुरेको भन्दै उनले एक मुक्तक सुनाएका छन्। 'यो प्रतिगामी हर्क देख्दा म साहित्यको 'स' नजान्ने मान्छेलाई पनि छोटो मुक्तकचाहिँ फुरेको छ,' उनले भनेका छन्।
यस्तो छ मुक्तक-
ए! सरकार कति बिग्रेको तिम्रो पारा
नैतिक मूल्य भुलेर लाग्न खोज्दैछौ झारा
छाडा बनाउन खोज्छौ पुरुषलाई बनाउँदैछौ घरभाडा
महिला मुक्ति आन्दोलनको उपलब्धिलाई कटाउदैछौ डाँडा
महिला चाहन्छन् समानता, न्याय र रोजगार
तर, तिमी दिँदैछौ महिलालाई सौता उपहार
कान्छी भित्र्याएर जेठीलाई दमन
यसैलाई भनिन्छ- घोर अत्याचार र प्रतिगमन
गर्दैछौ संविधान र सभ्य समाजको चीरहरण
कानूनने फेरेर पुरुषलाई गराउँदैछौ बाहिर विचरण
यसरी केही थान बिग्रेका पुरुषको इच्छाका लागि सारा पुरुषलाई बेइमान नदेख
बरु कान्छी चाहिने भीभीआईपीहरू को को हुन्, कानूनको अनुसूचीमै नाम लेख
होइन भने यस्ता सामन्ती हर्कत तुरुन्त बन्द गर
सारा दुर्गामाता काली बने बहेला होला महिषासुर
त्यसो त यसअघि पनि शेर्पाले प्रदेशसभा बैठकमा धेरै पटक गीत गाइसकेका छन्। सरकारका विभिन्न विवादित काम कारबाहीलाई लिएर शेर्पाले गीतमार्फत व्यङ्ग्य गर्ने गर्छन्। यसअघि उनले गृहमन्त्री रमेश लेखक मुछिएको भनिएको भिजिट भिसा प्रकरणमाथि व्यङ्ग्य गर्दै 'भिजिट भिसामा हजुर भिजिट भिसामा...' गीत गाएका थिए।
यस्तै आर्थिक वर्ष २०८२/८३ को बजेट विनियोजनको विषयलाई लिएर मुख्यमन्त्री हिक्मत कार्कीप्रति व्यङ्ग्य गर्दै 'गौरादहको बजारैमा माया हाम्रो बस्यो...' बोलको गीत गाएका थिए। शेर्पाले यो गीत धेरै बजेट मुख्यमन्त्री कार्कीले आफ्नो निर्वाचन क्षेत्रमा लगेको भन्ने सन्दर्भमा गाएका थिए।
शेर्पा 'गीताङ्गे माननीय' का रूपमा चर्चामा आउन थालेका छन्। हिमाली जिल्ला सोलुखुम्बु प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ बा निर्वाचित शेर्पा नेकपा (माओवादी केन्द्र) को राजनीतिमा छन्।
यो पनि पढ्नुहोस्
सांसद शेर्पाले संसद्मै गीत गाएर गरे मुख्यमन्त्रीको आलोचना: गौरादहको बजारैमा माया हाम्रो बस्यो...प्रकाशित: २३ श्रावण २०८२ १६:०८ शुक्रबार