प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा नातेदारलाई नियुक्ति दिइएको विषयमा जेनजीहरूको संस्था नेपाल जेनजी फ्रन्टले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्वारा आफ्नै श्रीमतीसहितका नातेदारलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति दिलाएको समाचार बाहिर आएपछि जेनजी फ्रन्टले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
आज एक विज्ञप्ति जारी गर्दै नेपाल जेनजी फ्रन्टले भनेको छ, 'प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्वारा आफ्नै श्रीमतीसहितका नातेदारलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति दिलाएको भनी सार्वजनिक भएको समाचारप्रति नेपाल जेनजी फ्रन्टले गम्भीर ध्यानाकर्षण भएको छ।'
राज्यको कार्यकारी प्रमुखको सचिवालयजस्तो संवेदनशील निकायमा नातावाद, कृपावाद र पारिवारिक सम्बन्धका आधारमा नियुक्ति हुनु पदको दुरुपयोग भएको जेनजी फ्रन्टले बताएको छ।
'राज्यको कार्यकारी प्रमुखको सचिवालयजस्तो संवेदनशील निकायमा नातावाद, कृपावाद र पारिवारिक सम्बन्धका आधारमा नियुक्ति हुनु पदको दुरुपयोग मात्र नभई सुशासन, नैतिकता, जवाफदेहीता र पारदर्शीताविरुद्धको प्रत्यक्ष प्रहार भएको छ,' विज्ञप्तिमा उल्लेख छ।
नेपाल जेनजी फ्रन्टले जेनजी विद्रोह नेपाली समाज र राजनीतिमा वर्षौंदेखि जरा गाडेका यी र यस्तै विकृतिविरुद्धको विद्रोह रहेको र यस प्रकरणले फेरि एकपटक राज्य संयन्त्रभित्रको विकृत अभ्यास उजागर गरेको जनाएको छ।
साथै, नेपाल जेनजी फ्रन्ट यस प्रकारका गतिविधिको घोर भर्त्सना गर्दै प्रत्यक्ष रूपमा जेनजी विद्रोहको मर्म र यसको म्यान्डेटका विरुद्ध हुने गरी भएको यस्तो गतिविधि पुनः नदोहोरियोस् भन्ने सुनिश्चितताका लागि नेपाल सरकार र प्रधानमन्त्री कार्कीसमक्ष पाँच बुँदे मागहरू पूरा गर्न जोडदार अपील समेत गरेको छ।
सुशासन, नैतिकता, जवाफदेहीता र पारदर्शीताविरुद्धको प्रत्यक्ष प्रहार भएको नेपाल जेनजी फ्रन्टको ठहर छ। जेनजी फ्रन्टले प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठलाई तत्काल बर्खास्ती गर्न र उनले नियुक्ति दिलाएका परिवारका सदस्य र नातेदार सबैको नियुक्ति तत्काल खारेज गर्न माग गरेको छ।
यो पनि पढ्नुहोस्
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव विवादपछि रक्षा बम भन्छिन् : रगतको अपमान भयो
प्रकाशित: ८ मंसिर २०८२ ०८:४५ सोमबार


-600x400.jpg)


