२० आश्विन २०८३ मंगलबार
image/svg+xml
राजनीति

पुस्तान्तरण भनेको ‘बा हटाऊ, छोरा ल्याऊ’ भन्ने होइन: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व पुस्तान्तरणका नाममा हतारमा पार्टीको साँचो अरूलाई सुम्पिन नसकिने बताएका छन्।

केन्द्रीय कमिटीको तेस्रो बैठकपछि जारी ‘अन्तरपार्टी निर्देशन-३’ मा समेटिएको राजनीतिक प्रतिवेदनमार्फत अध्यक्ष ओलीले पार्टीभित्र र बाहिर उठिरहेको पुस्तान्तरणको बहसलाई पुस्ताबीचको लडाइँ बनाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका हुन्।

दस्तावेजमा अध्यक्ष ओलीले लेखेका छन्, ‘पुस्तान्तरण पुस्ताबीचको युद्ध होइन। पुस्तान्तरण भनेको ‘बा हटाऊ, छोरा ल्याऊ’ भन्ने भावनात्मक नारा होइन, यो त अनुभव र ऊर्जा जोड्ने प्रक्रिया हो। हस्तान्तरण भनेको हतारमा पार्टीको साँचो कसैलाई थमाउनु होइन। त्यो हस्तान्तरण होइन, अस्थिरता हो।’

नेतृत्व केवल घोषणा गरेर तयार नहुने उल्लेख गर्दै उनले सङ्घर्ष, सङ्कटमा गरिने निर्णय, आलोचना सहने क्षमता र पराजयबाट सिकेर मात्र नेतृत्व परिपक्व हुने बताएका छन्।

पार्टी नेतृत्व कसैको निजी सम्पत्ति नभएको र आफू पनि सधैंका लागि रहन नआएको उल्लेख गर्दै ओलीले आफू बाटो रोक्न नभई बाटो सुरक्षित बनाउन नेतृत्वमा रहेको जिकिर गरेका छन्।

प्रतिवेदनमा पुरानो पुस्तासँग सङ्घर्षका चोट, विचारको गहिराइ र सङ्गठनको धैर्य रहेको तथा नयाँ पुस्तासँग समयको गति, भाषाको ताजापन र प्रविधिको साहस रहेको विश्लेषण गरिएको छ।

दुई पुस्तालाई भिडाउने प्रयास भए पार्टी भाँच्चिने भन्दै उनले तीन पुस्ताको संयोजनबाट मात्रै पार्टी बलियो हुने दाबी गरेका छन्।

युवा नेतृत्व केवल कोटाबाट नभई जिम्मेवारी वहनबाट विकास हुनुपर्ने नीति अघि सार्दै एमालेले पुस्तान्तरणको बहसलाई विरोधी शक्तिहरूले पार्टी कमजोर पार्ने हतियार बनाउन खोजेको आरोपसमेत लगाएको छ।

प्रकाशित: २० आश्विन २०८३ २०:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App