नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि सभापति पदमा पार्टी सभापति गगनकुमार थापासहित तीन जनाको उम्मेदवारी परेको छ।
राष्ट्रिय सभागृहमा मंगलबार भएको मनोनयन दर्तामा सभापति पदका लागि सबैभन्दा पहिले काठमाडौं क्षेत्र नम्बर-६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्गी, त्यसपछि थापा र अन्तिममा पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले उम्मेदवारी दर्ता गराएका हुन्।
गत पुसको विशेष महाधिवेशनबाट सभापति बनेका थापाले पूर्ण कार्यकालका लागि उम्मेदवारी दिएका हुन् भने नेविसंघका पूर्वअध्यक्षसमेत रहेका राठौर र नेता खड्गीले पार्टी एकताको एजेन्डासहित प्रतिस्पर्धामा उत्रिएको बताएका छन्।
पदाधिकारीतर्फ वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसालको एकल उम्मेदवारी परेको छ। दुवै पदमा अन्य कसैको मनोनयन नपरेकाले उनीहरू निर्विरोध निर्वाचित हुने निश्चित देखिएको छ।
खुला उपसभापतिका लागि ९ जना नेता मैदानमा उत्रिएका छन्। जसमा डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादव छन्।
त्यस्तै समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मन्सुर, सीता गुरूङ र रन्जित कर्ण गरी ५ जनाको उम्मेदवारी परेको छ।
महामन्त्रीतर्फ खुलामा ८ जनाको मनोनयन दर्ता भएको छ। जसमा प्रदीप पौडेल, गुरूराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनिल शर्मा र डा. सन्तोष उपाध्याय छन्।
महिला महामन्त्री पदमा भने डा. डिला संग्रौला, डिना उपाध्याय र रिता खनाल गरी ३ जना प्रतिस्पर्धामा छन्।
संशोधित विधानअनुसार कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति २५ पदाधिकारीसहित २९७ सदस्यीय बन्नेछ।
निर्वाचन समितिले आवश्यक कागजात, प्रस्तावक-समर्थक र दस्तुर रुजु गरेपछि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ।
प्रकाशित: २० आश्विन २०८३ २०:३४ मंगलबार





