२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

महासचिवको मार्मिक पार्टी विश्लेषण: एमालेबाट चार समुदाय टाढिए, युवामा आकर्षण घट्यो

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचनयता पार्टीसँग जोडिएका केही महत्वपूर्ण समुदाय क्रमशः टाढिँदै गएको भन्दै पार्टीभित्र गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताएका छन्।

शनिबार तारकेश्वरमा आयोजित ‘मिसन पार्टी जागरण, २०८३’ तथा संगठन सुदृढीकरण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले २०७९ सालको आमनिर्वाचनयता शहरी मध्यम वर्ग, भूमिहीन तथा शहरी गरिब, नयाँ पुस्ताका युवा र वैदेशिक रोजगारीमा रहेका नेपाली एमालेबाट टाढिएको विश्लेषण सुनाए।

उनका अनुसार राजधानीसहितका शहरमा प्रभावशाली रहेको शहरी मध्यम वर्गको ठूलो हिस्सा एमालेसँग दूरी बढाउने अवस्थामा पुगेको छ। त्यसैगरी भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोबासमा रहेका तथा शहरी गरिब समुदायसँगको पार्टीको सम्बन्ध पनि कमजोर बनेको उनले बताए।

पोखरेलले नयाँ पुस्तामा एमालेप्रतिको आकर्षण घट्दै गएको विषयलाई अझ गम्भीर रूपमा उठाए। पार्टीका गतिविधिमा युवाको सहभागिता क्रमशः घट्दै गएको र सहभागी हुने युवामा समेत विगतजस्तो उत्साह नदेखिएको उनको भनाइ थियो।

विदेशमा रहेका नेपालीहरू पनि एमालेप्रति नकारात्मक बन्दै गएको महासचिव पोखरेलको विश्लेषण छ। उनले यी चारै समुदायसँगको सम्बन्ध कमजोर हुनु पार्टीका लागि गम्भीर राजनीतिक चुनौती भएको संकेत गरे।

यही परिस्थितिको फाइदा उठाउँदै नेपालको राजनीतिमा वैकल्पिक शक्तिका नाममा लोकप्रियतावाद अगाडि आउन खोजिरहेको उनले बताए। परम्परागत राजनीतिक दलप्रति असन्तुष्टि बढिरहेका बेला पपुलिज्मले त्यसको ठाउँ लिन खोजेको उनको भनाइ थियो।

एमालेले पार्टीसँग टाढिएका समुदायसँग सम्बन्ध सुधार गर्न विभिन्न अभियान सञ्चालन गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको पोखरेलले स्वीकारे। ‘मिसन ग्रासरुट’मार्फत समस्या पहिचान गरी सुधारका लागि निर्देशन दिइए पनि तल्लो तहसम्म त्यसको अपेक्षित परिणाम आउन नसकेको उनले बताए।

उनका अनुसार प्रत्येक वडामा कम्तीमा १० जना युवा पहिचान गरी नेतृत्व विकासको तालिम दिने र उनीहरूलाई पार्टीको काममा जोड्ने योजना बनाइएको थियो। त्यस्तै स्थानीय तहअनुसार २५० जनासम्म युवालाई भेला गर्ने निर्देशन पनि दिइएको थियो। तर यी कार्यक्रमहरू आम रूपमा कार्यान्वयन हुन नसकेको उनले बताए।

पोखरेलको अभिव्यक्तिले एमालेभित्र संगठन विस्तार मात्र नभई पार्टी र नयाँ पुस्ता, शहरी समाज, विपन्न समुदाय तथा विदेशमा रहेका नेपालीबीच कमजोर हुँदै गएको सम्बन्धलाई पुनः जोड्नुपर्ने चुनौती रहेको देखाएको छ। उनका अनुसार पार्टीले आफ्ना कमजोरी पहिचान गरे पनि त्यसलाई व्यवहारमा सुधार गर्ने काम अझै बाँकी छ।

 

प्रकाशित: २३ श्रावण २०८३ १७:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App