नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले प्रतिनिधिसभा निर्वाचन र पार्टीको १५ औँ महाधिवेशन निर्धारित समयमै हुनुपर्ने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित अगुवा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले अहिले पार्टी र देशलाई ताजा जनादेशको जरुरत रहेको बताएका हुन्।
‘लोकतान्त्रिक व्यवस्थामा आम निर्वाचन भनेको जनताको अभिमत नवीकरण गर्ने महत्त्वपूर्ण अवसर हो,’ महरले भने, ‘त्यस्तै पार्टीभित्रको आन्तरिक जीवनलाई चलायमान बनाउन र नेतृत्वमा नयाँ ऊर्जा भर्न महाधिवेशन समयमै हुनुपर्छ।’ दुवैमा कुनै विलम्ब स्वीकार्य नरहेको उनले बताए।
सरकार निर्वाचन पर धकेल्ने प्रयासमा लागेको पनि उनले शंका व्यक्त गरे। उनले भने,‘संविधानले कोरेको लिकभन्दा बाहिर जाने छुट सरकारलाई छैन।’
प्रकाशित: ८ पुस २०८२ १५:०८ मंगलबार





