२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

कार्तिक २३–२४ गते काठमाडौंमा जेन–जीको राष्ट्रिय सम्मेलन

जेन–जी आन्दोलनमा संलग्न सबै समूहलाई एकीकृत गर्ने उद्देश्यले आगामी कार्तिक २३ र २४ गते काठमाडौंमा ‘जेन–जी एकता राष्ट्रिय सम्मेलन’ हुने भएको छ।

जेन–जी २.० (सबै समूह) राष्ट्रिय समन्वय समितिले सोमबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै सम्मेलनको मिति सार्वजनिक गरेको हो। समितिका सदस्य–सचिव कुन्दन कुशहवाले असोज २३, २४ र २५ गते काठमाडौंको नवदुर्गा पार्टी प्यालेससहित देशभर र प्रवासका नेपालीसँग डिस्कोर्ड मिटिङमार्फत ३९ स्थानमा प्रारम्भिक भेला सम्पन्न भएको जानकारी दिए। ती भेलाले काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय लिएको उनले बताए।

समितिका प्रवक्ता अविन लिम्बूका अनुसार सबै जेन–जी समूहका अगुवासँग वार्ता र छलफल गरेर आन्दोलनको रक्षा तथा भावी रणनीति तय गर्न १२० सदस्यीय तदर्थ समिति, वार्ता समिति र विभिन्न विभाग गठन गर्ने निर्णय गरिएको छ।

भेलाले जेन–जी आन्दोलनको जगमा बनेको नागरिक सरकारलाई सफल बनाउन अग्रणी भूमिका खेल्ने, न्यायालय र अख्तियारका प्रमुख तथा आयुक्तहरूको विवाद समाधानका लागि पहल गर्ने, र ‘जेन–जी फोर्स’ गठन गरी सुरक्षाकर्मीहरूसँग सहकार्य गरेर शान्ति र भयरहित वातावरण निर्माण गर्ने निर्णय गरेको समितिले जनाएको छ।

त्यसैगरी, सरकारले जेन–जी आन्दोलनको म्यान्डेटअनुसार काम गर्न सहयोग गर्ने, देशभर र प्रवासमा रहेका समर्थकहरूलाई साधारण र सक्रिय सदस्यका रूपमा विकास गर्ने, कार्तिक १५ भित्र सबै संयन्त्रहरू सक्रिय गर्ने र आगामी अवधिमा ६० लाख साधारण सदस्य पुर्‍याउने लक्ष्य राखिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो।

प्रकाशित: २७ आश्विन २०८२ १८:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App