८ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

जेन-जी आन्दोलन: ३० वर्षे असन्तुष्टिको ज्वालामुखी, ओली बने अन्तिम निसाना

विश्लेषक तथा मानव अधिकारकर्मी सुबोधराज प्याकुरेलले गत भदौको जेन-जी आन्दोलन कुनै व्यक्ति वा सरकारविरुद्धको आकस्मिक विद्रोह मात्र नभएर, विगत तीन दशकदेखि राज्यका हरेक अंगप्रति थुप्रिएको जनअसन्तुष्टिको ज्वालामुखी विस्फोट भएको बताएका छन्।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रममा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलसँग कुरा गर्दै उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली उक्त ज्वालामुखीको अन्तिम निसाना मात्र बनेको सुनाए।

प्याकुरेलले आन्दोलन हुनुभन्दा दुई वर्षअघिदेखि नै यस्तो विस्फोटको पूर्वानुमान गरेको सुनाए।

‘हाम्रो संसद आधारा (अड्डा) जस्तो भएको थियो, सरकार आफ्नै धुनमा एकोहोरो हिँडिरहेको थियो, न्यायालय बहुतै सुस्त थियो र कर्मचारी प्रशासन आम नागरिकको हुर्मत लिनमा व्यस्त थियो,’ उनले भने, ‘कतैबाट पनि जनताले राहत महसुस गर्न सकेका थिएनन्। यो अवस्था सुकेको कासजस्तै थियो, जहाँ एउटा सानो झिल्कोले डढेलो लगाउन पर्याप्त भयो।’

प्याकुरेलका अनुसार प्रणालीगत असफलता लामो समयदेखिको भए पनि केपी ओलीको शैली र अभिव्यक्तिले त्यसलाई एकीकृत गरी उनीविरुद्ध सोझ्याइदियो।

’उहाँको छुचो बोली र कसैलाई नगन्ने अहंकारले गर्दा २०४६ सालदेखिको सबै रिस उहाँमाथि खनियो,’ उनले भने, ’अवस्था यस्तो बन्यो कि भदौ २४ गतेको जुलुसमा एमाले, कांग्रेस, राप्रपा, रास्वपासहित सबै दलका कार्यकर्ता र सर्वसाधारणको एउटै नारा थियो- ओलीविरुद्ध। यो कुनै एक पार्टीको विरोध थिएन, यो समग्र निराशाको अभिव्यक्ति थियो।’

उनका अनुसार, भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धजस्ता मुद्दाले जनताको गहिरो घाउमा नुनचुक छर्किने काम गर्‍यो।

उनले थपे, ’शासकले आफ्ना आलोचक, विरोधी र भुइँ तहका मानिसको आवाज सुन्नुपर्छ। जब त्यो बन्द हुन्छ, तब सानो मुद्दाले पनि विद्रोहको रूप लिन्छ।’

आन्दोलनले राजनीति भनेको दम्भ र अहंकारले नभई जनताको विश्वास जितेर गर्नुपर्छ भन्ने शक्तिशाली सन्देश दिएको उनको निष्कर्ष थियो।

प्रकाशित: २२ आश्विन २०८२ १९:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App