४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

जेन-जी आन्दोलन ‘दृष्टिविहीन डढेलो’, यसले पुरानै सत्तालाई फाइदा पुर्‍याउँछ: विश्लेषक प्याकुरेल

वरिष्ठ विश्लेषक तथा मानव अधिकारकर्मी सुबोधराज प्याकुरेलले जेन-जी आन्दोलनलाई ‘दृष्टिविहीन डढेलो’ को संज्ञा दिँदै यसमा तत्कालको आक्रोश भए पनि समाधानको स्पष्ट मार्गचित्र नभएको विश्लेषण गरेका छन्।

यस्ता आन्दोलनले विद्यमान व्यवस्थालाई भत्काए पनि अन्त्यमा पुरानै शक्तिलाई सत्तामा फर्कन मद्दत पुर्‍याउने उनको तर्क छ।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रममा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै उनले आन्दोलनको चरित्र, यसमा विदेशी शक्तिको अप्रत्यक्ष भूमिका र नेपालको प्रशासनिक संयन्त्रको असफलतामाथि टिप्पणी गरेका हुन्।

जेन-जी आन्दोलनमा विदेशी शक्तिको प्रत्यक्ष संलग्नता नदेखिएको तर यस्ता युवा आन्दोलन विश्वव्यापी रूपमा नै भइरहेको र प्रजातन्त्रका लागि युवाहरूलाई संगठित गर्ने तथा आर्थिक सहयोग गर्ने प्रवृत्ति नयाँ नभएको उनले बताए।

‘विदेशी शक्ति प्रत्यक्ष रूपमा सडकमा आएको छैन,’ प्याकुरेलले भने, ’तर ट्युनिसियादेखि जर्जियासम्म यस्ता आन्दोलन विश्वव्यापी रूपमा डढेलोजस्तै फैलिएका छन्।’

प्याकुरेलका अनुसार जेन-जी आन्दोलनको सबैभन्दा ठूलो कमजोरी भनेको यसमा विरोधको स्वर चर्को भए पनि समाधानको दृष्टिकोण नहुनु हो।

‘यो आन्दोलन कस्तो हो भने, यसले के-के भएन भन्ने कुरामा विरोध गर्छ, तर कसो गर्दा हुन्छ भन्ने समाधान यससँग छैन,’ उनले भने, ’जब आन्दोलनमा दृष्टिकोण हुँदैन, त्यसले अशान्ति सिर्जना गर्छ र अन्त्यमा त्यो निभाउने जिम्मा फेरि पुरानै सत्तालाई आइपुग्छ।’

उनले सुदन गुरुङजस्ता अभियन्ताले मन्त्रालयमा गएर सचिवलाई हप्काउने वा विमानस्थलमा चर्पी सफा गर्न निर्देशन दिने शैलीलाई प्रणालीगत अज्ञानता को संज्ञा दिए।

प्याकुरेलले देशको मुख्य समस्या प्रशासनिक र राजनीतिक तहमा रहेको जवाफदेहीताको अभावलाई औंल्याए। उनका अनुसार, योजना बनाउनेदेखि कार्यान्वयन गर्नेसम्म कोही पनि जिम्मेवार नहुँदा जनतामा आक्रोश चुलिएको हो।

‘पोखराको एयरपोर्ट बनिसकेपछि थाहा भयो कि २०० मिटर डाँडा काट्नुपर्ने रहेछ। त्यो नक्सांकन गर्नेलाई कहिल्यै कारबाही भयो ? मेलम्चीको ढोका बाहिर खुल्ने बनाइयो, जबकि त्यो भित्र खुल्नुपर्थ्यो,’ उनले भने, ’जबसम्म जिम्मेवार व्यक्तिलाई जवाफदेही बनाइँदैन, यस्तो आक्रोश बारम्बार देखिन्छ।’

उनले राजनीतिक दलहरूले अहिले आत्मआलोचना र आत्मनिरीक्षण गर्दै संविधान संशोधन र राज्य सञ्चालनको कार्ययोजना बनाउनुपर्नेमा जोड दिए।

‘अहिलेको बेला भनेको उनीहरूले आत्मनिरीक्षण गर्ने, हामीले कहाँ गल्ती गर्‍यौँ भनेर सोच्ने र अब कसरी अगाडि बढ्ने भनेर ठोस योजना बनाउने हो,’ उनले भने।

प्रकाशित: २२ आश्विन २०८२ १९:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App