नेपाल बाल संगठनलाई नेकपा (एमाले)ले कब्जा गरेको आरोप लगाउँदै उदयपुरका जेनजीहरुले पुनर्गठनको माग गरेका छन्। मङ्गलबार युवाहरुको एक समूहले प्रमुख जिल्ला अधिकारीलाई भेटेर समावेशी बनाउन मागसहित ज्ञापनपत्र बुझाएका हुन्।
जिल्लाका विद्यार्थी तथा युवाहरु सम्मिलित समूहले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेललाई एक ज्ञापनपत्र बुझाउँदै नवगठित कार्यसमिति खारेज गरि साझा र समावेशी बनाउन माग गरेको छ। उनीहरुले भर्खरै गठित कार्यसमिति समावेशी नभई एमालेको एकल कब्जामा परेको भन्दै सर्वदलीय, सर्वपक्षीय, मावेशी तथा साझा सस्थाको रुपमा रुपान्तरण गर्न ज्ञापनपत्रमा माग गरेका छन्।
नेपाल बाल संगठनजस्तो साझा सस्थालाई दलीयकरण गर्न नहुनेमा एमालेले पार्टीको भगिनी संगठनजस्तो बनाएको आरोप उनीहरुको छ। ज्ञापनपत्र बुझाउन गएको समूहमा स्वतन्त्र नागरिक समाज, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीनिकट युवा विद्यार्थीहरु थिए।
ज्ञापनपत्रमा बाल संगठनको विधान, नियमावली र निर्देशिका अनुरुप समावेशी, गैरदलीय तथा सर्वदलीय र सर्वपक्षीय कार्यसमिति चयन गर्नुपर्नेमाएमालेका नेता कार्यकर्ता तथा उसकै पार्टी निकट भ्रातृ तथा भगिनी संगठनमा आबद्धहरुलाई मात्र समेटिएको गुनासो उल्लेख छ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ लुईटेलले युवाहरुको मागप्रति आफू सचेत हुँदै अघि बढ्ने प्रतिबद्धता जनाए । ज्ञापनपत्रमा भनिएजस्तो हो भने गम्भीर समस्या रहेको भन्दै उनले त्यसको अध्ययन अनुसन्धान गरि सस्थाको विधान अनुसार कानुनी उपचारको प्रक्रिया अघि बढाउने बताएका छन् ।
प्रकाशित: ७ आश्विन २०८२ १९:१८ मंगलबार





