तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा गएका उदयपुरको चौदण्डीगढी नगरप्रमुख र उपप्रमुख जेन-जी युवाहरुबाट लखेटिएका छन् । आईतबार बिहान चौदण्डीगढी १० नं. वडा कार्यालयद्वारा आयोजित ‘तिहार तथा छठ शुभकामना आदानप्रदान’ कार्यक्रममा भाग लिन गएका मेयर र उपमेयरलाई जेड युवाहरुले लखेटेका हुन् ।
१० नं. वडा कार्यालयले हडिया बजारमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि रहेका मेयर कालुमान लामा, अतिथि उपमेयर मणिकादेवी दुलाल र ९ नं. वडाध्यक्ष प्रकाश राउतलाई कार्यक्रमस्थलमै पसेर जेन-जीहरुले लखेटेको प्रत्यक्षदर्शी स्थानीयले बताए ।
प्रत्यक्षदर्शीका अनुसार कार्यक्रमका सुरुमा वडाध्यक्ष धर्मराज खड्काले मन्तव्य राखेपछि शुभकामना आदानप्रदान सुरु भएको थियो । त्यही बेला एकहुल जेन-जी समूह मञ्चमा प्रवेश गरेर व्यानर मिल्काउनुका साथै पोडिएम र ड्यास तोडफोड गर्न थालेपछि मेयर उपमेयर कार्यक्रम छाडेर बाहिरिएका थिए । उनीहरुसँगै अर्का वडाध्यक्ष राउत पनि मञ्च छाडेर हिडेको प्रत्यक्षदर्शीले बताएका छन् ।
शुभकामना आदानप्रदानको क्रममा वडाध्यक्ष खड्का र राउतले एमालेबाट निर्वाचित मेयर, उपमेयर र वडाध्यक्षहरुले नगरमा विकास निर्माणका काम प्रसस्त गरेको बखान गरेपछि स्थानीयहरु रुस्ट भएर कार्यक्रम विथोलेको प्रत्यक्षदर्शीको भनाई छ ।
‘सुरुमा कार्यक्रम शान्तिपूर्ण नै थियो’ प्रत्यक्षदर्शी एक स्थानीयले भने ‘वडाध्यक्षहरुले वडा र नगरको विकास आफुहरुले गरेको भन्दै फुर्ति गर्न थालेपछि आक्रोसित युवाहरुको हुलले कार्यक्रम भाँडे ।’
मेयर र उपमेयर कार्यक्रमकन हिडे पनि १० नं. का वडाध्यक्ष खड्कालाई निकैबेर स्थानीयले घेरेर राखेका थिए । वडाध्यक्ष धर्मराज खड्कालाई घेराउ गरेर राखेका थिए । उनलाई स्थानीय जनउत्थान सहकारी सँस्था लिमिटेड हडियाको अध्यक्षको नाताले सहकारीको रकम हिनामिना भएको विषयमा र्याख्र्याख्ती पारेको बताइएको छ ।
एकाघ घण्टाको छलफलपछि वडाध्यक्ष खड्काले यस विषयमा तिहारपछि सबै प्रष्ट पार्ने प्रतिबद्धता जनाएपछि जमात तितरवितर भएको थियो । मञ्चमा प्रवेश गर्ने समूहको पहिचान भने गर्न बाँकी रहेको स्थानीयले बताएका छन् । स्थानीय एमाले नेता खड्का वडाध्यक्ष हुनुअघि नै सहकारीको अध्यक्ष रहेको र उनको कार्यकालमा अपारदर्शी गतिबिधि भएको भन्दै हिसाव युवाहरुले हिसाव मागेका थिए ।
वडाध्यक्ष खड्काले तिहार तथा छठ पर्वको अवसरमा मेयर र उपमेयर बोलाएर भेटघाट तथा विकास निर्माण सम्बन्धी अन्तरक्रिया गर्ने उद्देश्यले वडाले गरेको कार्यक्रम केही युवाहरुले गर्न नदिएको बताए । ‘
स्थानीय आवश्यक्ताका विषयमा मेयर उपमेयरलाई राखेर अन्तरक्रिया गर्न कार्यक्रम आयोजना गरिएको हो’ वडाध्यक्ष खड्काले भने ‘तर, केही युवा भाइहरु आएर एमालेको कार्यक्रम गर्न दिदैनौँ भनेपछि हामीले पनि स्थगित गर्यौँ ।’
कार्यक्रम गर्न नदिने जमातलाई आफुले नचिनेको पनि खड्काले बताए । ‘पढ्न, घुम्न, कमाउन काठमाडौं, विराटनगर तथा विदेश कताकता गएकाहरु दसैँ तिहारमा घर आएका भाइहरु हुन्’ वाडध्यक्ष खड्काले भने ‘मान्छेहरु सबै गाउँतिरकै हुन् तर चिन्नै सकिन ।’
उनले आफु अध्यक्ष रहेको जनउत्थान सहकारीको विषयमा कुरा उठेको स्वीकार्दै त्यसबारे तिहारपछि प्रष्ट पार्ने गरि सबैलाई बोलाएको बताए । पहिला आफु नै अध्यक्ष रहेको सहकारी हाल विविध कारणले बन्द रहेको बताउँदै उनले त्यसको सबै हिसावकिताव पारदर्शी रहेको र तिहार र छठ सकिएपछि प्रष्ट्याईदिने प्रतिबद्धता जनाएको उनले बताए ।
प्रकाशित: २ कार्तिक २०८२ १४:४१ आइतबार





