२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

गगन-विश्वलाई विनोदको साथ, भने- यो यात्रा अधुरो नछोड्नुस्

नेपाली कांग्रेसका नेता विनोद चौधरीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा सुरु भएको विशेष महाधिवेशनको अभियानलाई निर्णायक बिन्दुमा पुर्‍याउन आग्रह गरेका छन्।

आइतबार भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता चौधरीले यो अभियानले कांग्रेसलाई नयाँ ऊर्जा, दिशा र नेतृत्व दिने विश्वास व्यक्त गरे।

‘यो राजयात्रालाई अधुरो नछोड्नुस्। यसलाई एउटा निर्णायक ठाउँमा पुर्‍याउनुस्,’ महामन्त्रीद्वयलाई हौसला दिँदै चौधरीले भने, ‘टाढा-टाढाबाट धेरै जोखिम मोलेर आउनुभएका साथीहरूको उपस्थितिको सार्थक नतिजा अब मुलुक र पार्टीले पाउनुपर्छ।’

नेता चौधरीले नेपाली कांग्रेसले अबको निर्वाचनमा कम्तीमा ५० प्रतिशत नयाँ अनुहारलाई स्थान दिनुपर्ने बताए। उनले जेन-जीको भावना र सपनालाई कांग्रेसले प्रतिनिधित्व गर्नुपर्नेमा जोड दिए।

‘राजनीतिलाई पेसा होइन, समाज रूपान्तरणको माध्यम बनाउने र योग्यताका आधारमा राजनीति गर्ने प्लेटफर्म कांग्रेस बन्नुपर्छ,’ उनले भने, ‘कुनै पनि मानिसलाई ढोका थुन्ने होइन, खुला हृदयले आमन्त्रण गरेर भित्र्याउन सक्नुपर्छ।’

नेपालबाहिर रहेका करिब एक करोड नेपालीले नेपालमा राजनीतिक परिवर्तनसँगै आर्थिक क्रान्तिको परिकल्पना गरेको उनले बताए।

२०४८ सालमा कांग्रेसले गरेको आर्थिक रूपान्तरणकै जगमा आजसम्म देश चलेको उल्लेख गर्दै उनले पछिल्लो ३५ वर्षमा बाटो बिराइएको टिप्पणी गरे।

‘रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता, व्याप्त भ्रष्टाचार र उद्योग व्यवसायमा देखिएको विसंगति अन्त्य गर्न अब अर्को आर्थिक रूपान्तरणको खाँचो छ,’ चौधरीले भने, ‘नेपालभित्रै गरी खाने वातावरण बनाउन र युवाले देखेको भविष्यको सपना साकार पार्न यो विशेष महाधिवेशन कोसेढुङ्गा सावित हुनुपर्छ।’

उनले आफू पनि यही रूपान्तरणको पक्षमा उभिएको बताउँदै विषम परिस्थितिमा महामन्त्रीद्वयले देखाएको साहसको प्रशंसा गरे।

प्रकाशित: २७ पुस २०८२ १६:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App