सामाजिक अभियन्ता एवं समाजसेवी उज्ज्वल विक्रम थापाले आगामी प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई समर्थन गरेका छन्।
सामाजिक सञ्जालमा उनले प्रधानमन्त्रीको दौडमा रहेकामध्ये थापा नै आफ्नो रोजाइ भएको बताएका हुन्। प्रधानमन्त्री बन्ने दौडमा थापासँगै रास्वपाबाट बालेन्द्र शाह र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम पनि चर्चामा रहेको छ।
‘आज गाली खान मन लाग्यो। निर्वाचन मा प्रधानमन्त्री को दौडमा भएका मध्ये मा मैले गगन थापा लाई रोजेको छु।गल्ती नगर्ने कोही हुँदैन गल्ती गरेर आत्मसात् गर्दै पुनः गल्ती नदोहोर्याउने बचन सहित अघि बढ्न हिम्मत चाहिन्छ,’ एक्समा उनले लेखेका छन्, ‘आत्मामा हात राखेर सोचौँ हामी सबैले गल्ती गरेका छौँ र ती गल्ती पुनः नदोहोर्याउने प्रण ले नै हामी परिपक्व बनेका हौँ। कुनै अनुभव नभएका र गल्ती होला भनेर प्रयास नै नगर्नेहरूलाई म देश चलाउने एउटा ठुलो जिम्मेवारी मा विश्वास गर्न सक्दिनँ।’
उनले गगनलाई ‘खारिएको व्यक्ति’ भन्दै अगाडि लेखेका छन्, ‘खारिएको व्यक्ति को परिभाषा नै जीवन का उतारचढाव अनुभूत गरेका मान्छे भनेर बुझ्छु। पुनः कुनै गल्ती नगर्न सदा सचेत गराउने नागरिक जिम्मेवारी म सधैँ राख्ने प्रतिबद्धता सहित गगन भाइलाई समर्थन गरेँ।’
उनी अगाडि लेख्छन्, ‘घरमा बसौँला वा प्रधानमन्त्री निवासमा दुवै मेरो घरबाट पैदल दुरीमा छ भाइ। पटक पटक आएर गाली वा स्याबासी दिने काम गर्नेछु दिक्क नमान्नु है। निवासको ठेगाना नेपाली मतदाता ले निर्धारण गर्नेछन् जहाँ पुग्छौ दसकौंदेखी गरेको जनसेवामा कमी नआओस्। मेरो शुभकामना।’
प्रकाशित: १२ फाल्गुन २०८२ १४:३२ मंगलबार





