२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

ओली र देउवालाई गगनले भने- गाडीको स्टेरिङ ठीकसँग घुमाउनुस्, दुर्घटनामा पर्ला !

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेका सभापति शेरबहादुर देउवा प्रति लक्षित गर्दै सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएका छन्।

बिहीबार संसदको विशेष समयमा बोल्दै उनले सरकारलाई एउटा गाडीसँग तुलना गर्दै आफूहरू जस्ता सांसदले बाहिरबाट हुने ढुंगा र हिलोबाट गाडीलाई जोगाए पनि ड्राइभिङ सिटमा बसेका नेताहरूले नै गाडीलाई भिरतिर लैजान खोजेको भन्दै आक्रोश व्यक्त गरे।

‘हामी एउटै गाडीमा छौँ, तर ड्राइभिङ सिटमा हाम्रा नेताहरू हुनुहुन्छ,’ थापाले भने, ‘यो गाडी दुर्घटना नहोस् भनेर हामी चाहन्छौँ। बाहिरबाट ढुंगा हानेका छन्, हिलो छ्यापेका छन्, हामी रोक्छौँ। तर स्टेरिङ चलाउनेले त ठीक ढंगले चलाइदिनुपर्‍यो !’

उनले सरकारको गति र मति दुवै ठीक नभएको टिप्पणी गरे। ‘कहिलेकाहीँ घ्याच्च रोकिदिएको छ, कहिलेकाहीँ भिरतिर चढाएको छ। मसँग गाडीको स्टेरिङ छ, जता हानिदिए पनि हुन्छ भनेर हिँडेको जस्तो देखिन्छ,’ उनले भने।

थापाले आफूले बन्द कोठामा दिएका सुझावहरू नसुनेपछि संसदबाटै बोल्न बाध्य भएको स्पष्ट पारे। उनले आफू सरकारको आलोचक मात्र नभएर यो सरकार सफल होस् भन्ने चाहने जिम्मेवार सांसद भएको बताउँदै भने, ‘यो मेरो छटपटी हो। यो जिम्मेवारीबाट भाग्ने कुरा होइन।’

उनले यो अवस्थालाई सच्याउन अझै समय र अवसर दुवै भएको भन्दै तत्काल काममा केन्द्रित हुन नेतृत्वलाई आग्रह गरे।

प्रकाशित: ५ भाद्र २०८२ १६:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App