नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषयमा पटक पटक आवाज उठ्दै आए पनि करिब एक दशक लाग्दा पनि प्रतिवेदन सार्वजनिक हुन नसकेको बताएका छन्।
२०७३ सालमा गठन भएको उच्चस्तरीय जाँचबुझ आयोग (लाल आयोग) ले बुझाएको प्रतिवेदन हालसम्म सार्वजनिक नहुँदा घटनाको सत्यतथ्य पूर्ण रूपमा बाहिर आउन नसक्दा पीडितले न्याय पाउन नसकेको उनको भनाइ छ।
उनले २०७४ सालदेखि हरेक वर्ष लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने आवाज उठ्दै आएको र राजनीतिक दलहरूले सरकारमा जानुअघि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाउँदै आए पनि सरकारमा पुगेपछि त्यसलाई कार्यान्वयन गर्न नसकेको बताएका छन्।
‘विगतका सरकारबाट पनि यो काम हुन सकेन। तर विगतको कमजोरी आज पनि प्रतिवेदन सार्वजनिक नगर्ने कारण बन्न सक्दैन, बन्नु हुँदैन,’ उनले भनेका छन्।
यसपटक प्रतिवेदन सार्वजनिक गर्ने विषय प्रतिबद्धतामा मात्र सीमित नराख्न आग्रह गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई थप विलम्ब नगरी प्रतिवेदन सार्वजनिक गर्न आग्रह थापाले आग्रह गरेका छन्।
‘सत्य जान्ने अधिकार नागरिकको हो, न्याय पाउने अधिकार पीडितको हो,’ उनले भनेका छन्।
प्रकाशित: ८ भाद्र २०८३ १०:५९ सोमबार





