१७ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

डिजिटल अर्थतन्त्रमा निजी क्षेत्रसँग सहकार्य गर्न सरकारलाई गगन थापाको आग्रह

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले डिजिटल अर्थतन्त्रको दिगो विकासका लागि सरकारले निजी क्षेत्रसँग विश्वासका आधारमा सहकार्य गर्नुपर्ने बताएका छन्।

आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘डिजिटल इकोनोमी: स्थानीय रोजगारी र पहुँच विश्वबजार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति थापाले सरकारले स्पष्ट योजना, दीर्घकालीन सोच र निजी क्षेत्रप्रतिको भरोसाका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

उनले डिजिटल क्षेत्रलाई नेपालको आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउन सकिने उल्लेख गर्दै सरकार र निजी क्षेत्रबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्ने बताए। सरकारसँग मात्र सबै ज्ञान र क्षमता केन्द्रित रहेको सोच व्यावहारिक नभएको भन्दै उनले निजी क्षेत्रका विज्ञ, उद्यमी र दक्ष जनशक्तिको अनुभवलाई नीति निर्माण र कार्यान्वयनमा उपयोग गर्नुपर्ने धारणा राखे।

थापाले नेपाली जनशक्तिले विश्वभर आफ्नो क्षमता प्रमाणित गरिसकेको उल्लेख गर्दै देशभित्र रहेका दक्ष जनशक्तिलाई पनि विश्वास गरेर अवसर दिनुपर्ने बताए। उनका अनुसार डिजिटल अर्थतन्त्र कुनै एक राजनीतिक दलको मात्र एजेन्डा नभई राष्ट्रिय समृद्धिसँग जोडिएको साझा विषय हो।

कार्यक्रममा उनले संसदमा डिजिटल अर्थतन्त्रसम्बन्धी बहसलाई तथ्यपरक र प्रभावकारी बनाउन आवश्यक अध्ययन तथा प्रतिवेदन सांसदहरूलाई उपलब्ध गराउने तयारी भइरहेको जानकारी पनि दिए।

प्रकाशित: १७ श्रावण २०८३ १८:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App