३२ असार २०८३ बिहीबार
image/svg+xml
राजनीति

गगन थापा भन्छन्: सडक विस्तार मात्र विकास होइन, सुरक्षित र समावेशी यातायातमा जोड दिनुपर्छ

नेपाली कांग्रेसका सभापति गगन थापाले सडक विस्तारलाई मात्र विकासको मापदण्ड मान्ने सोच परिवर्तन गर्नुपर्ने बताएका छन्। उनले सडक सुरक्षाका लागि पूर्वाधार सुधार, गुणस्तरीय सार्वजनिक यातायात र सचेतनामूलक परिवर्तनलाई समान प्राथमिकता दिनुपर्ने धारणा राखे।

शुक्रबार नेपाली कांग्रेसको ‘ग्रीन टेबल’ कार्यक्रमअन्तर्गत आयोजित ‘सडक सुरक्षा व्यवस्थापनः दण्डात्मक नियन्त्रण कि सचेतनात्मक रूपान्तरण?’ विषयक छलफलमा बोल्दै थापाले सडक चौडा बनाउँदैमा यातायात समस्या समाधान नहुने स्पष्ट पारे।

‘सडक विस्तार गरेर मात्रै सहर व्यवस्थित र समृद्ध हुन्छ भन्ने सोचबाट हामी बाहिर निस्कनुपर्छ,’ उनले भने। ‘डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सडक विस्तारको व्यापक अभियान चल्यो। त्यतिबेला काठमाडौंको ट्राफिक समस्या समाधान हुने अपेक्षा गरिएको थियो, तर त्यसले मात्रै अपेक्षित परिणाम दिएन।’

थापाले सडक विस्तारसँगै सार्वजनिक यातायात, सुरक्षित फुटपाथ, साइकल लेन तथा पैदलमैत्री पूर्वाधारमा पर्याप्त लगानी नगर्दा समस्या यथावत् रहेको बताए।

‘काठमाडौंमा सार्वजनिक बस सेवाको प्रयोग बढाउन सके मोटरसाइकलमा निर्भरता घट्छ र ट्राफिक समस्या क्रमशः समाधानतर्फ जान सक्छ,’ उनले भने।

उनले सडक निर्माण र विस्तारका क्रममा पैदलयात्री, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको आवश्यकतालाई बेवास्ता गरिएको टिप्पणी गरे।

‘हामीले सडक विस्तार गर्‍यौं, तर पर्याप्त फुटपाथ बनाएनौं। बनाएका फुटपाथ पनि साँघुरा भए। बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र साइकल प्रयोगकर्ताको आवश्यकताबारे गम्भीर रूपमा सोचिएन,’ उनले भने।

थापाले सडक दुर्घटनाले नेपालमा ठूलो मानवीय र आर्थिक क्षति पुर्‍याइरहेको उल्लेख गर्दै यसलाई सार्वजनिक स्वास्थ्य र विकाससँग जोडिएको गम्भीर चुनौतीका रूपमा लिनुपर्ने बताए।

‘२०७० सालतिर फुटपाथ विस्तारको अभियान सुरु भए पनि त्यसको महत्वलाई पर्याप्त रूपमा बुझ्न सकिएन। अहिले सडक दुर्घटनाका कारण हरेक वर्ष हजारौं मानिस घाइते र ठूलो संख्यामा नागरिकले ज्यान गुमाइरहेका छन्,’ उनले भने।

उनले विशेषगरी १५ देखि ४९ वर्ष उमेर समूहका उत्पादनशील नागरिक सडक दुर्घटनाबाट सबैभन्दा बढी प्रभावित हुने उल्लेख गर्दै त्यसले परिवारलाई पुनः गरिबीको चक्रमा धकेल्ने अवस्था सिर्जना गरेको बताए।

‘गरिबीबाट माथि उठेको परिवारसमेत सडक दुर्घटनाका कारण फेरि आर्थिक संकटमा पर्न बाध्य हुन्छ। त्यसैले सडक सुरक्षालाई केवल ट्राफिक व्यवस्थापनको विषय होइन, सामाजिक र आर्थिक विकासको मुद्दाका रूपमा हेर्नुपर्छ,’ उनले जोड दिए।

कार्यक्रममा सडक सुरक्षा विज्ञ डा. भगवती सेढाई, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकाल तथा यातायात इन्जिनियर सागर पन्त ले सडक सुरक्षाका विभिन्न पक्षमा धारणा राखेका थिए। कार्यक्रमको सहजीकरण जनस्वास्थ्य विज्ञ डा. रामानन्द पण्डितले गरेका थिए।

 

प्रकाशित: २६ असार २०८३ १९:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App