२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

देवानगञ्ज घटनामा गगन थापाको अपिल : संयमता, संवाद र सामाजिक सद्भाव कायम राख्न आग्रह

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्। 

मंगलबार भिडियो सन्देशमार्फत थापाले प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि, शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। 

उनले ओमप्रकाश मेहतामाथि ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताए। घटनाको सत्यतथ्य सार्वजनिक गर्दै सरकारलाई जिम्मेवार बनाउन नेपाली कांग्रेसले निरन्तर प्रश्न उठाउने पनि उनको भनाइ छ। थापाले अहिलेको अवस्थामा परिस्थिति झन् बिग्रिन नदिन सबै नागरिकले जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिए। अफवाह, उत्तेजना र प्रतिशोधको बाटोले समस्या समाधान नहुने भन्दै संयमता, धैर्यता र संवादबाट मात्र समाधान सम्भव हुने उनको भनाइ छ। 

उनले नेपालको विविधतामा आधारित एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी बन्धुत्व नै नेपाली समाजको पहिचान र शक्ति भएको उल्लेख गर्दै कठिन परिस्थितिमा त्यसलाई अझ मजबुत बनाइराख्न सबैलाई आग्रह गरे। 

सभापति थापाले विशेषगरी देवानगञ्जका स्थानीयवासी, सामाजिक संघसंस्था, सबै राजनीतिक दल तथा नागरिक समाजलाई धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका खेल्न आह्वान गरेका छन्। साथै नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्तालाई घाइतेहरूको उपचारमा सहयोग गर्न, पीडित परिवारको साथमा उभिन र समुदायबीच विश्वासको वातावरण कायम गर्न सक्रिय हुन निर्देशन दिएका छन्। 

उनले घटनामा कसैले गल्ती गरेको भए कानुनअनुसार कारबाही हुनुपर्ने र सरकारले त्यसको जिम्मेवारी लिनुपर्ने दोहोर्याउँदै वर्तमान परिस्थितिमा सबै नागरिकले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।  

प्रकाशित: १३ श्रावण २०८३ ०६:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App