नेपाली कांग्रेस रोल्पाले आगामी संसदीय निर्वाचनका लागि पार्टीका महामन्त्री गगनकुमार थापालाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
‘माओवादी जनयुद्ध’ को उद्गम थलो मानिने रोल्पाबाट कांग्रेसका प्रभावशाली नेता एवं महामन्त्री थापाको नाम सिफारिस भएपछि यसले राजनीतिक वृत्तमा नयाँ चर्चा सिर्जना गरेको छ।
जिल्ला कार्यसमितिले महामन्त्री थापासँगै अन्य चार जना नेताहरूको नाम पनि केन्द्रमा सिफारिस गरी पठाएको छ।
सिफारिस हुने अन्य नेताहरूमा लुम्बिनी प्रदेश कांग्रेस सभापति अमरसिंह पुन, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय महामन्त्री मनोजमणि आचार्य, इन्जिनियर तथा व्यवसायी डा. मन्दीप सुवेदी र नेविसंघ रोल्पाका संस्थापक अध्यक्ष ज्ञानबहादुर वली रहेका छन्।
काठमाडौंको सुरक्षित निर्वाचन क्षेत्र छोडेर रोल्पाबाट महामन्त्रीको नाम सिफारिस हुनुलाई धेरैले चासोका साथ हेरेका छन्। यस विषयमा प्रष्ट पार्दै कांग्रेस रोल्पाका सभापति किशोरकुमार आचार्यले यो सिफारिसलाई स्वभाविक रूपमा लिनुपर्ने बताए।
सभापति आचार्यले भने, ‘महामन्त्री थापा रोल्पा आउँदा यहाँका जनताले देखाएको अगाध माया र सद्भावका कारण उहाँ यस विषयमा सकारात्मक हुनुभएको हो। यहाँका आम मतदाताले पनि गगनजी जत्तिको राष्ट्रिय व्यक्तित्व आएर रोल्पाबाट चुनाव लड्नुपर्ने माग गरेकाले हामीले उहाँको नाम सिफारिस गरेका हौँ।’
आचार्यका अनुसार, पार्टी केन्द्रले आधिकारिक रूपमा टिकट दिएको खण्डमा र रोल्पाली जनताको चाहना भएमा आफू रोल्पा आएर चुनाव लड्न तयार रहेको प्रतिक्रिया महामन्त्री थापाले दिएका छन्।
केन्द्रले रोल्पालाई सधैं ओझेलमा पारेको गुनासो गर्दै जिल्ला नेतृत्वले यसपटक शीर्ष नेतालाई नै उम्मेदवार बन्न अनुरोध गरेको थियो।
उम्मेदवारको सूचीमा रहेका कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले महामन्त्रीको सिफारिसले रोल्पामा कांग्रेस संगठनात्मक रूपमा सुदृढ र बलियो भएको सन्देश दिएको बताए।
‘हामीले कांग्रेसको राष्ट्रिय नेतृत्वमा रहेका प्रभावशाली नेतालाई रोल्पाजस्तो ठाउँमा ल्याएर चुनावी मैदानमा उतार्न खोजेका हौँ,’ पुनले भने, ‘यसले एकातिर कार्यकर्तामा उत्साह भर्छ भने अर्कोतिर रोल्पामा कांग्रेस कमजोर छैन भन्ने सन्देश पनि दिन्छ।’
गणतन्त्र स्थापनापछिका सबै निर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले एकछत्र जित हासिल गर्दै आएको रोल्पालाई माओवादीको ‘लालकिल्ला’ मानिन्छ। तर, यसपटक कांग्रेस आफ्नो पुरानो विरासत फर्काउने रणनीतिमा देखिएको छ।
आगामी निर्वाचनमा आफ्नो परम्परागत विरासत जोगाउने चुनौतीमा रहेको प्रचण्ड नेतृत्वको नेकपा, गुमेको साख फर्काउन आक्रामक बनेको कांग्रेस र आफूलाई स्थापित गर्न कसरत गरिरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच रोल्पामा कडा प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ।
प्रकाशित: २३ मंसिर २०८२ २१:१३ मंगलबार





