नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निजामती कर्मचारी विधेयकमा भएको ‘कुलिङ किर्ते’ प्रकरणमा राजीनामा दिएका तत्कालीन सभापति रामहरि खतिवडाले त्रुटिको सजाय पाएको बताएका छन्। बुधबार नागरिक फ्रन्टलाइनमा कुराकानी गर्दै महामन्त्री थापाले ‘अब उहाँलाई थप अन्य जिम्मेवारी दिन पाइन्न भनेर भन्न नपाइने’ टिप्पणी गरे।
‘.. समितिको सभापतिका रूपमा काम गरिरहँदा त्यहाँभित्र भएको त्रुटि जे भयो, त्यो बदनियत साथ नगरेको भएता पनि मेरो गल्ती–कमजोरी स्वीकार गर्छु भनेर त्यसलाई स्वीकार गरेर त्यो जिम्मेवारीबाट अलग भइसकेपछाडि त्यही जिम्मेवारी सम्पूर्ण रूपमा अनुपयुक्त हुन्थ्यो,’ महामन्त्री थापाले भने, ‘तर त्यो भन्दाबाहेक अरू जिम्मेवारीका लागि अनुपयुक्त हो भन्यो भने त त्यो पनि त अन्यायपूर्ण हुन्छ नि।’
भोलि मन्त्रीकै जिम्मेवारीमा जाने कुरा आउँदा विरोध गर्नु अन्यायपूर्ण हुने उनले बताए। ‘.भोलि अरू जिम्मेवारी होला, मन्त्री बन्ने कुरा होला। अब मन्त्री बन्ने कुरा आउँदा अस्ति नै समितिमा बसेर गल्ती गरेकाले मन्त्री बन्न मिल्दैन भन्ने कुरा भन्यो भने त अन्यायपूर्ण हुन्छ नि,’ महामन्त्री थापाले भने।
पहिले जे गल्ती थियो गल्तीको सजाय खतिवडाले प्राप्त गरिसकेको उनले टिप्पणी गरे। खतिवडाले बदनियत नराखे पनि मानवीय त्रुटि भने भएको देखिएको उनले बताए। तर संसद्मा रहेका कोही पनि सांसद पानीमाथिको ओभानो भने हुन नमिल्ने उनको भनाई छ।
कुलिङ किर्तेको घटनाले खतिवडाले मात्र नभई संसद्का सबै सांसद, कर्मचारीले पाठ सिकेको पनि महामन्त्री थापाले टिप्पणी गरे। उनले भने, ‘अब सबैले सिकियो, कहिलेकाहीँ यस्ता कुराबाट सिकाइ हुने रहेछ। कसले सिक्यो–समितिको सभापतिले सिक्यो, संसद्का कर्मचारीले सिक्नुभयो, हामी सांसदले सिक्यौँ।’
प्रकाशित: १२ भाद्र २०८२ १८:०७ बिहीबार





