नेपाली कांग्रेसको १५ औँ महाधिवेशन मितिबारे मंगलबार केन्द्रीय समितिमा दुई फरक प्रस्ताव पेस भएका छन्। महामन्त्री गगन थापाले पुस १९ देखि १९ गतेसम्मको प्रस्तावको ‘काउन्टर’मा सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि २९ गतेसम्मको अर्को मिति प्रस्तावित गरेका छन्।
दुई पक्षबिच सरकारले फागुन २१ गते आह्वान गरेको प्रतिनिधिसभा निर्वाचन अघि महाधिवेशन गर्ने वा पछि गर्ने भन्ने विषयमा चर्किएको विवादका बिच दुई फरक मिति प्रस्ताव गरिएका हुन्।
महामन्त्री थापाले गरेको प्रस्ताव
महामन्त्री थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्। जसका लागि मंसिर १० गतेसम्म क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको समयावधि प्रस्ताव छन्।
यस्तै मंसिर १० गतेदेखि २० गतेसम्म क्रियाशील सदस्यता छानबिनको मिति प्रस्ताव गरेका छन् मंसिर २४ गते क्रियाशील सदस्यता सूची निर्वाचन समितिलाई हस्तान्तरण गर्ने मिति प्रस्ताव गरिएको छ।
यस्तै मंसिर २७ गते वडा अधिवेशनको मिति प्रस्ताव गरिएको छ। यस्तै पुस ५ गते क्षेत्रीय अधिवेशन र पुस १६ गतेदेखि १९ गतेसम्म १५ औँ केन्द्रीय महाधिवेशनको मिति प्रस्ताव गरिएको छ।
महेन्द्र यादवको प्रस्ताव
सहमहामन्त्री यादवले गरेको प्रस्तावको कार्य तालिका मंसिरबाटै सुरु गरिएको छ। जसअनुसार मंसिर २० गतेसम्म क्रियाशील सदस्यता नवीकरण, पुस ५ गतेसम्म नयाँ क्रियाशील सदस्यता वितरण, पुस २० गतेसम्म निर्वाचन समितिलाई क्रियाशील सदस्यता हस्तान्तरणको मिति प्रस्ताव गरिएको छ।
यस्तै चैत १ गते वडा अधिवेशन, चैत ५ गते पालिका अधिवेशन, चैत १२ गते प्रदेश क्षेत्रीय अधिवेशन, चैत २० गते संघीय क्षेत्रीय अधिवेशन, चैत्र ३० गते जिल्ला अधिवेशन, वैशाख १५ गते सात प्रदेशको अधिवेशन र वैशाख २७ देखि २९ गतसम्म १५ औँ केन्द्रीय महाधिवेशनको मिति प्रस्ताव गरिएको छ।
प्रकाशित: १८ कार्तिक २०८२ १६:०७ मंगलबार





